कैलाली । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा सदस्य ज्ञानेन्द्र मल्ल र टोलीका नियमित कप्तान रोहित कुमार पौडेल नयाँ जिम्मेवारीका साथ नेपाल एपीएफ क्लब आबद्ध भएका छन् ।
काठमाडौंको हल्चोकस्थित एपीएफको मुख्य कार्यलयमा मल्ललाई टोलीमा मुख्य प्रशिक्षकको भूमिका दिइएको छ । भने, पौडेललाई टोलीको कप्तानमा नियुक्त गर्दै दुवैसँग बिहीबार सम्झौता गरेको जनाएको छ ।
शनिबार देखि सुरु हुन हुन लागेको प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पौडेल र मल्लको जोडीले एपीएफको टोलीलाई सम्हाल्नेछन् । मल्लले यो पहिलो पटक राष्ट्रिय स्तरमा प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । अघिल्लो महिनामात्रै मल्ल, शक्ति गौचन र गण्डकीका रिजन प्रजुले सिंगापुर पुगेर आईसीसी लेभल टु कोचिङ कोर्ष गरेका थिए । सोही पश्चात उनी एपीएफको प्रशिक्षकमा नियुक्त भएका छन् ।
मल्ल नेपाली क्रिकेटका एक सर्वाधिक सफल ब्याट्सम्यान मध्येका एक क्षमतावान खेलाडी हुन । उनले गत साउनमा खेलाडी जीवनबाट सन्न्यास लिएका थिए । उनीसँग काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा झन्डै एक दशक प्रशिक्षकको भूमिका निर्वाह गरेको अनुभव समेत रहेको छ ।
मल्लले सन् २०११ देखि २०१९ सम्म एपीएफमा रहेर टोलीको नेतृत्व गरेका थिए । त्यसपछि मल्लले घरेलु क्रिकेट बागमतीबाट खेलेका थिए । एपीएफले उनलाई दीर्घकालीन रुपमा हेरेको बताएको छ ।
२०१८ मा नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता जित्दा रोहित टोलीका सदस्य थिए । त्यसपछि रोहित नेपाल आर्मी क्लबमा पुगेका थिए । उनले भर्खरै मात्रै नेपाल आर्मी क्लब छोडेका थिए । उता छोड्दै उनी ज्ञानेन्द्रसँग एपीएफमा प्रवेश गरेका छन् । यस अघि एपीएफमा शरद भेषवाकर पनि रहेका थिए तर उनी यस सिजनदेखि टोलीमा छैनन् । प्रदीप ऐरी र भुवन कार्कीले टोलीको नेतृत्व गरि सकेका छन् । तर टोली केही भद्रगोल र नतिजा नआएपछि सिनियर टोलीको खेलाडी खोजेको थियो । त्यसमा रोहितलाई कप्तानको जिम्मेवारी दिएको छ ।
एपीएफले पछिल्ला दुबै प्रधानमन्त्री कपको उपाधि जितेको थियो । २०२१ मा टी२० र २०२२ नोभेम्बरमा एकदिवसीय पिएम कपको उपाधि जितेको थियो । त्यसपछि पिएम कप आयोजना भएको छैन ।
पिएम कप शनिबार सुरु हुनेछ । पहिलो पटक राउन्ड रोविनको आधारमा हुँदैछ । सबै सात प्रदेशले छनोट सम्पन्न गरेका छन् । तीन विभागीय टोलीले पनि आन्तरिक तयारी गरेका छन् । पिएम कप टियु, मूलपानी र भैरहवामा हुनेछ ।













