घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सवको शुभारम्भ आजदेखि, नगर प्रमुखले रावतले गरे उद्घाटन

कैलाली । कैलालीको घोडाघोडीमा आज देखि ‘घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव २०८०’ को शुभारम्भ भएको छ । कार्यक्रमको उद्घाटन भने घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले गरेका हुन् ।

घोडाघोडी सामाजिक सरोकार केन्द्रले जिल्लाको घोडाघोडी नगरपालिका १, नगरको केन्द्र मानिने सुखड बजार चोक स्थित हेली प्याडमा आजबाट “कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध घोडाघोडीको आधार” भन्ने मूल नाराका साथ ‘घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव २०८०’ को आयोजना गरेको हाे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले महोत्सवले स्थानीय कला संस्कृति संरक्षण र पहिचान सँगै यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा जोड दिएका थिए ।  माघ ६ गते सम्म महोत्सव सञ्चालन हुने आयोजकले बताएको छ ।

महोत्सवको आकर्षणको केन्द्रमा पूर्ण विक्रम (पल) शाह र प्रमोद खरेल रहेका छन् । यस्तै पछिल्लो समय चर्चामा रहेकी शान्तिश्री परियार, चक्र बम लगायतका कलाकार उक्त महोत्सवमा आउने आयोजकले यस अघि नै जानकारी गराई सकेको छ । भोलि खेम सेन्चुरीको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

Share