कैलाली । नेपाल क्रिकेट संघ क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटका गतिविधिबाट निलम्बन गरेको छ ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले आज एक विज्ञप्ति जारी गर्दै अदालतले दोषी ठहर्याएको हुँदा निलम्बन गरिएको बताएका छन् ।
जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । हिजो गरिएको सजाय निर्धारणमा उनलाई आठ वर्ष कैदसहित पाँच लाख जरिवाना र क्षतिपूर्तिको आदेश सुनाएको थियो।
हिजोको सजाय निर्धारण लगत्तै लामिछानेले क्यानलाई पत्राचार गरेर माथिल्लो अदालतबाट सफाइ नपाएसम्म क्रिकेटबाट अलग रहने स्वघोषणा गरेका थिए ।
केही दिन अगाडि क्यानका सचिव पारस खड्काले अदालतको फैसलापछि आएपछि क्यानले लामिछानेको बारेमा निर्णय गर्ने बताएका थिए । सोही अनुरूप आज विज्ञप्ति जारी गर्दै उनलाई निलम्बन गरेको हो ।













