कैलाली । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि जारी गरेको विज्ञापन रद्द गरिएको छ। शुक्रबार गोरखा पत्रमा जारी गरिएको विज्ञापन दुई दिन पनि नबित्दै स्थगित गरिएको हो ।
उपकुलपतिमा दरखास्त पेस गर्न विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तिन वर्ष काम गरेको भन्ने व्यवस्था गरिएपछि व्यापक विरोध भएको थियो। उक्त विरोध पछि आज एक सूचना जारी गर्दै २१ गतेको निर्णयअनुसार विज्ञापन रद्द गरिएको जनाएको हो ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि पहिलो पटक दरखास्त आह्वान लागि विज्ञापन गरिएको थियो । त्यसपछि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो ।
२० गते सार्वजनिक सूचनामा कुलपतिबाट रिक्त उपकुलपति नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ को उपदफा (२) अनुसार गठित सिफारिस समितिबाट स्वीकृत कार्यविधि २०८० अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दश दिनभित्र दरखास्त पेस गर्न भनिएको थियो ।

तर पहिलो पटक गरिएको विज्ञापन नै दुई दिन नबित्दै स्थगित भएको छ । अब अर्को सूचना जारी गरेर नयाँ व्यवस्था लागू गरिने बताइएको छ ।













