कैलाली । कैलालीकाे धनगढी उपमहानगरपालिकाले आगामि माघ १ गते देखि पालिका भित्र सुर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने भएको छ । पालिकाले मङ्गलबार एक सूचना जारी गर्दै उक्त उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० को १ र २ मा ब्यवस्था भए अनुसार उक्त दफालाई कार्यान्वयन गर्दै माघ १ गते देखि पालिका भित्र पूर्ण रूपमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने जनाएको हाे ।
स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० (१) मा ‘सुर्ति तथा मदिराजन्य पदार्थ बिक्री वितरणको लागि उपमहानगरपालिकाबाट छट्टै अनुमति लिनु पर्ने’ भनी उल्लेख गरेको छ । भने, सोही दफाको २ मा ‘खाद्य पदार्थ बिक्री गर्ने पसलमा सुर्ति तथा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न बन्देज लगाईनेछ” भनी व्यवस्था बमाेजिम गर्न लागिएकाे जनाएकाे छ ।
पालिकाले माघ १ गते देखि चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न निर्देशन जारी गरेकाे छ । सूचनाकाे अवज्ञा गरि बिक्री वितरण गरेको भेटिएमा कानुन बमोजिम कारवाही गर्ने समेत चेतावनी उपमहानगरले दिएको छ ।













