‘ए मेरो हजुर ५’ को निर्माण घोषणा

काठमाडाैं । नेपाली चलचित्रमा सफल सिरिज मध्य  ‘ए मेरो हजुर’ सिरिज पनि पर्छ । यसका चारवटा श्रृंखला हिट भैसकेका छन् र अब पाँचौं श्रृंखला निर्माण हुने भएको छ। अंग्रेजी नयाँ वर्ष २०२४ को अवसर पारेर सोमबार इन्स्टाग्राम स्टोरीमा उदाउँदो सूर्यको तस्वीर सेयर  गर्दै नायिका तथा निर्देशक झरना थापाले ‘ए मेरो हजुर ५’ निर्माणको घोषणा गरेकी हुन् ।

उनले चलचित्रबारे अरु जानकारी भने गराएकी छैनन् ।‘ए मेरो हजुर २’देखि झरना आफैंले निर्देशनको जिम्मेवारी सम्हाल्दै आएकोले पाँचौं श्रृंखलालाई पनि उनले नै निर्देशन गर्नेछिन् । चलचित्रमा नायिका उनकै छोरी सुहाना थापा हुनेछिन भने नायकमा झरनाको पहिलो रोजाईमा अनमोल केसी छन् ।

चलचित्रको अघिल्लो दुई श्रृंखलामा अनमोल र सुहानाको जोडी दर्शकले अत्यधिक मन पराएका थिए। यस वर्षको भदौमा प्रदर्शन भएको चलचित्र ‘एक भगवत् र एक गीता’को असफलताले हच्किएकी निर्देशक झरना थापाले पुनः सफल सिरिजलाई नै निरन्तरता दिन लागेकी हुन्।

Share