सरकार र बालकुमारी घटनामा ज्यान गुमाएका परिवारबीच चार बुँदे सहमति, मृतकलाई शहीद घोषणा गर्न पहल गरिने

कैलाली । नेपाल सरकार र बालकुमारी घटनामा ज्यान गुमाएका मृतकका परिवारबीच आज चार बुँदे सहमति भएको छ । सोमबार गृह मन्त्रालयमा भएको छलफलमा चार बुँदे सहमति भएसँगै शव उठाउन पीडित परिवार सहमत भएका जनाईएको छ ।

चार बुँदे सहमतिको पहिलो बुँदामा मृतकका परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका एक/एक जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने उल्लेख गरेको छ । यस्तै सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने दोस्रो बुँदामा उल्लेख गरेको छ ।

यस्तै मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने सहमतिको तेस्रो बुँदामा उल्लेख छ भने चौथो बुँदामा मृतकका परिवारले आजै शव बुझिलिने सहमति भएको पनि उल्लेख गरिएको छ । यस्तै मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने सहमतिपत्रमा उल्लेख छ ।

पुस १३ गते बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो । सो घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरिसकेको छ भने मृतकका परिवारका सदस्यलाई प्रति परिवार दश लाख रकम उपलब्ध गराउने निर्णय पनि गरिसकेको छ ।

अझै परिवारले शव बुझ्न नमानेपछि सरकारले मृतकका परिवारसँग थप सहमति गरेको हो ।

Share