आज गुरुङ समुदायको तमु ल्होसार, सुदूरपश्चिममा पुसे १५ मनाइँदै

कैलाली । आज पुस १५ गते अर्थात गुरुङ समुदायको ‘तमु ल्होसार’ पर्व । यस समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने गरेका छन् ।।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको भन्ने गरिन्छ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरूपमा मनाउँछन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको नेपालका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको मानिन्छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

सुदूरपश्चिममा पुस १५ को महत्व आफ्नै

सुदूरपश्चिममा भने आजको दिनलाई पसे १५ का रूपमा भव्य तरिकाले मनाउने गरिन्छ । विशेष गरेर नेपालको सुदूरपश्चिम प्रदेशमा मनाइने यो पर्व यहाँको मौलिक पर्व समेत हो । आज गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने प्रचलन रही आएको छ । सोही क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ ।

पुस १५ का दिन विशेष गरी तरुल, सखरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने कन्दमूल उसिनेर खाने गरिन्छ । कन्दमूल खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने किम्वदन्ती रहेको छ । जसका लागि एक दुई दिनदेखि नै बजारमा यस्ता तरुल, सखरखण्ड लगायतको व्यापार सुरु भएको थियो ।

आज तरुल खानै पर्ने मान्यताअनुरूप सहरी क्षेत्रमा तरुल किन्नेको घुइँचो लाग्ने गर्छ भने ग्रामीण क्षेत्रका बासिन्दाहरू भने घरमा लगाएको र जङ्गलमा पाइने तरुल उसिनेर खान्छन् । विशेष गरेर पुस पन्ध्रमा चामलको पिठोको मोटो रोटी (भक्काने रोटी) बनाएर आगोको भुबरामा पकाएर खाने चलन पनि रहेको छ ।

पुस पन्ध्रको लामो रातलाई कतै कतै कुनिकेउली खाने पर्वका रूपमा पनि अर्थ्याइएको पाइन्छ । घर घरबाट विभिन्न परिकार बनाउन सामग्री लगेर एक ठाउँमा जम्मा भई पकाउने र बाँडिचुँडी खाने चलन समेत छ ।