कैलाली । २०२४ को पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपाली क्रिकेट टोलीका १० खेलाडी पर्न सफल भएका छन्। उता इन्डियन प्रिमियर लिग आईपीएलको अक्सनमा भने कुनै पनि नेपाली खेलाडी पर्न सकेनन् ।
पिएसएलमा भने नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने, युवा अलराउन्डर गुलसन झा, आरिफ शेख, अर्जुन साउद, देव खनाल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी ड्राफ्टमा परेका हुन्।
यो भन्दा पहिले पनि पिएसएल लिग खेली सकेका स्टार लामिछाने प्लेटिनममा परेका छन्। गुलसन झा गोल्ड क्याटेगरीमा पर्दा अन्य बाँकी आठ खेलाडी सिल्भर क्याटेगरीमा परेका छन् ।
प्लेटिनममा बिक्ने खेलाडीले एक लाख ४८ हजार अमेरिकी डलर पाउनेछन् भने गोल्ड क्याटेगरीमा बिक्ने खेलाडीले ३७ हजार चार सय ३५ डलर पाउनेछन्। त्यसै गरी सिल्भर क्याटेगरीमा बिक्ने खेलाडीले १८ हजार अमेरिकी डलर पाउनेछन्।
लामिछाने यसअघि सन् २०१९ मा लाहोर क्वालान्दर्सबाट पीएसएल खेली सकेका छन् । पछिका त्यसपछिका सिजनमा भने उनी पर्न सकेनन् ।
यसपटक पनि उनी नाबालिका बलात्कारको मुद्दामा झुन्डिरहेको बेला कुनै टोलीले लिने नलिने थाहा अहिले नै यकिन गर्न भने सकिने अवस्था छैन । उनी एक वर्षदेखि नाबालिका बलात्कारको मुद्दा खेपी रहेका छन् । अदालतले बारम्बार पेशी मात्रै तोक्ने तर मुद्दाको फैसला नगर्ने हैरानीले उनको क्रिकेट जीवनमा नै धक्का पुगेको छ । सोही मुद्दाका कारण उनी केही समयदेखि अन्य कुनै विदेशी लिगहरूमा छनोट हुन समेत पाएका छैनन् ।
आईपीएलमा कुनै पनि नेपाली खेलाडी परेनन्, एसोसिएट देशबाट अक्सनमा मात्र दुई खेलाडी
इन्डियन प्रिमियर लिग(आईपीएल) २०२४ को अक्सनमा सहभागी हुने खेलाडीको सूची बीसीसीआईले सार्वजनिक गरेको छ । तर उक्त सूचीमा एसोसिएट राष्ट्रबाट जम्मा दुई खेलाडी मात्रै परेका छन् भने नेपालबाट कुनै पनि खेलाडी उक्त सूचीमा परेनन् ।
विगत केही समययता देखि राम्रो प्रदर्शन गर्दै आएका नेपाली खेलाडी यो पटक आईपीएलको अक्सनमा पर्छन् भन्ने धेरैले आकलन गरेको थियो तर बीसीसीआईको अन्तिम सूचीमा भने नेपाली खेलाडी पर्न सकेनन् ।
१९ डिसेम्बरमा युएईको दुबईमा आईपीएलको अक्सन हुँदै छ । उक्त अक्सनमा तीन सय ३३ खेलाडी सहभागी हुने बीसीसीआईले जनाएको छ।
आईपीएल अक्सनका लागि नेपाली खेलाडीले पनि आफ्नो नाम दर्ता गराए पनि कुनै नेपाल खेलाडीलाई बीसीसीआईले सर्टलिस्टमा समावेश गरेन।
तीन सय ३३ खेलाडीमध्ये दुई सय १४ भारतीय र एक सय १९ विदेशी खेलाडी रहेका छन्। तीन सय ३३ खेलाडीमध्ये दुई खेलाडी मात्र एसोसिएट राष्ट्रका परेका छन्।
बीसीसीआईले नेदरल्याण्ड्सका पल भान मिकिरण र नामिबियामा डेभिड वीसीलाई मात्र अक्सनका लागि छानेको हो।
यस अघि नेपाली बलर सन्दीप लामिछाने अक्सनमा रहे पनि उनलाई कुनै क्लबले किनेका थिएनन्। लामिछानेले त्यसअघिका तीन सिजनमा भने दिल्लीमा रहेर आईपीएल खेलेका थिए।












