प्रथम मुख्यमन्त्री पालिका स्तरीय कैलाली जिल्लाव्यापी फुटबल प्रतियोगिताको उपाधि धनगढीलाई

कैलाली । कैलालीको बर्दगोरियामा सम्पन्न प्रथम मुख्यमन्त्री पालिका स्तरीय कैलाली जिल्लाव्यापी फुटबल प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाको टोलीले हात पारेको छ ।

विहीबार जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ४ मुडा स्थित खेल मैदानमा भएको उपाधि भिडन्तमा घोडाघोडी नगरपालिकाको टोलीलाई १–० गोल अन्तरले पाखा लगाउँदै धनगढीले उपाधि चुमेको हो । 

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । त्यहाँ दुबै टोलीका लागि केही अवसरहरू सिर्जना भएपनि गोलमा परिणत भने हुन सकेनन् । परिणाम स्वरुप खेलको पहिलो हाफ गोल रहित बराबरीमा समाप्त हुन् पुग्यो । खेलको दोस्रो हाफको मध्य तिर धनगढीले गोल गर्दै अग्रता बनाएको थियो । उसका लागि खेलको ७६ औं मिनेटमा आशिष आचार्यले गोल गर्दै टोलीलाई उपाधि तर्फ अग्रसर गराएका थिए । अन्ततः उनको उक्त गोल नै उपाधि उचाल्नका लागि प्रयाप्त बन्यो । घोडाघोडीले केही अवसरलाई सदुपयोग गर्न नसक्दा गोल विहीन बन्न पुग्यो ।

 यो प्रतियोगिता बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसको आयोजनामा यही मंसिर १३ गतेदेखि सञ्चालन भएको थियो । जसमा कैलाली जिल्ला भरबाट १६ टोलीले सहभागिता जनाएका थिए । नकआउट चरणमा भएको खेलमा गौरीगङ्गा, घोडाघोडी, लम्कीचुहा नगरपालिका र धनगढी उपमहानगरपालिकाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका थिए ।

१९ गते भएको पहिलो सेमिफाइनलमा गौरीगङ्गा नगरपालिकालाई १–० गोल पाखा लगाउँदै धनगढी उपमहानगरपालिकाले फाइनलको स्थान सुरक्षित गरेको थियो भने सोही दिन भएको दोस्रो सेमिफाइनलमा लम्कीचुहाको (बीएस– १५) लाई २–० को गोल अन्तरले हराउँदै घोडाघोडी नगरपालिकाको टोलीले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

आज उपाधि चुम्न सफल भएको धनगढीले नगद दुई लाख एक हजार नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने उपविजेतामै सीमित बनेको घोडाघोडीले एक लाख पाँच हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

फाइनल खेलमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउदको समेत उपस्थिति रहेको थियो ।

Share