कैलाली । युगान्डा विश्व इतिहासमै पहिलो पटक टी २० विश्वकप प्रतियोगितामा छनोट भएको छ । सन् २०२४ जुन ४ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा युगान्डाले आफ्नो स्थान सुरक्षित ग¥यो । योसँगै उ अफ्रिकी महादेशबाट आगामी विश्वकपमा छनोट हुने दोस्रो राष्ट्र बनेको हो । यसअघि अफ्रिकी महादेशबाट नामिबिया छनोट भइसकेको छ । युगान्डा आगामी टी२० विश्वकपमा छनोट हुने २०औँ तथा अन्तिम राष्ट्र पनि हो ।
नामिबियामा जारी आईसीसी पुरुष टी२० विश्वकप अफ्रिका क्वालिफाएरको अन्तिम चरणको छनोट प्रतियोगितामा बिहीबार युगान्डाले रुवान्डालाई नौ विकेटको फराकिलो अन्तरले पाखा लगायो । युगान्डा जितसँगै विश्वकपमा छनोट भएपछि दुई बलिया टोली जिम्बाबे र केन्या भने विश्वकपमा छनोट हुन असफल भए । अफ्रिका छनोटबाट विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको युगाण्डाको सट्टा अनुभवी टोली जिम्बाबे चर्चाको विषय बन्न पुगेको छ । । जिम्बाबे यस वर्ष हर प्रतियोगितामा असफल नै रह्यो ।
भारत भर्खरै सम्पन्न भएको एकदिवसीय विश्वकपमा पनि ग्लोबल छनोटमा सफल हुन नसकेको जिम्बाबे यसपालि पनि अफ्रिका छनोटमै असफल भएको छ ।
विश्वकपमा दुई स्थानका लागि अफ्रिकी राष्ट्रहरु नामिबिया, युगाण्डा, जिम्बाबे, केन्या, नाइजेरिया, तान्जानिया र रुवान्डाबीच प्रतिस्पर्धा भएको थियो । जसमा १२ औं वरीयताको नामिबिया र २३ औं वरीयताको युगाण्डाले शीर्ष दुईमा रहँदै विश्वकपमा स्थान बनाउँदा ११ औं वरीयताको जिम्बाबे यस पटक पनि चुकेको छ ।
यस छनोट प्रतियोगितामा उ नामिवियासँग सात तथा युगान्डासँग पाँच विकेटले पराजय भोगेसँगै छनोटको कठिन मोडमा पुगेको थियो । युगान्डाको भर परेको जिम्बाबे अन्तिममा पनि युगान्डाले जित निकालेसँगै विश्वकपको सूचिबाट पछाडि हट्न बाध्य भयो ।
युगान्डाले आफ्नो अन्तिम खेलमा टस जित्दै पहिले फिल्डिङ रोज्दै रुवान्डालाई ब्याटिङको निम्तो दियो । रुवान्डा १८ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै मात्र ६५ रनमा समेटिन पुग्यो ।
रुवान्डाका लागि ओपनर ब्याट्सम्यान एरिकले सर्वाधिक १९ र मुहम्मद नादिरले११ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् । युगान्डाका बलर ब्राइन मासाबा, हेनरी सेनयोन्दो, दिनेश नकरानी र अल्पेस रमजानीले दुई/दुई विकेट लिए ।
६६ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा ओर्लिएको युगान्डाले भने आठ ओभर एक बलमा केवल एक विकेट गुमाएर लक्ष्य पुरा ग¥योे । उसका लागि ओपनर ब्याट्सम्यान सिमोन सेसाजीले अविजित २६ रनको योगदान गरे । उनले २१ बलमा पाँच चौका प्रहार गरे । अर्का ओपनर रोनक पटेलले २० बलमा चार चौकाको मद्दतले १८ रन बनाए तथा रोजर मुकासाले पनि आठ बलमा दुई चौकाको मद्दतले अविजित १३ रन जोडे । युगान्डाले अतिरिक्त रुपमा नौ रन पायो ।
योसँगै सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी २० विश्वकप क्रिकेटको समीकरण पुरा भएको छ । प्रतियोगिता आगामी जुन ४ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ । यसपटक टी २० विश्वकपमा २० वटा राष्ट्रको सहभागिता रहनेछ ।
अमेरिका र वेस्ट इन्डिज आयोजकको रुपमा विश्वकपमा सहभागी हुनेछन् । अघिल्लो टी २० विश्वकप तालिकाको माथिल्लो आठ स्थानमा रहने टोलीले भने स्वतः सन् २०२४ को विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । सोही प्रावधान अनुरूप अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका विश्वकपमा छनोट भइसकेका छन् ।
यसैगरी आईसीसी टी २० वरीयतामा माथिल्लो स्थानमा रहेका आधारमा अफगानिस्तान र बंगलादेश पनि विश्वकपमा छनोट भइसकेका छन् ।
यसका अतिरिक्त छनोट चरण पार गर्दै युरोप महादेशबाट आयरल्यान्ड र स्कटल्यान्ड विश्वकपमा पुगेका हुन् ।
पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट पपुवा न्यु गिनी विश्वकपमा छनोट भएको छ । अमेरिकी महादेशको छनोट प्रतियोगिताबाट क्यानडा विश्वकपमा पुगेको छ । एसिया महादेशको छनोट प्रतियोगिताबाट भने नेपाल र ओमानले विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।
अफ्रिका महादेशबाट नामिबिया र युगान्डा विश्वकपमा पुगेका हुन् । यो भन्दा अगाडि २० टोलीले विश्वकप खेल्ने प्रावधान रहेको थिएन । यस पटक आईसीसीले २० राष्ट्रलाई सहभागी गराउने उद्देश्य अनुरुप छनोट चरणबाट २० राष्ट्र विश्वकपका लागि छनोट हुन सफल भएका छन् ।













