कैलाली । आईसीसी पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि भिडन्तमा भारतले अष्ट्रेलियालाई दुई सय ४१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
खेल आइतबार दिउँसो सवा दुई बजे अहमदाबाद स्थित नरेन्द्र मोदी रङ्गशालामा सुरु भएको थियो । उक्त उपाधि भिडन्तमा हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ४० रनको आँकडा तयार गर्यो ।
टस जितेर पहिले फिल्डिङमा उत्रिएको कङ्गारु टोली अष्ट्रेलिया रणनिति बनाउँदै खेलमा सुरुवात गरी रहेको थियो । भारतलाई सुरुवातमा नै दबाबमा राखेको अष्ट्रेलियाका लागि मिचेल स्टार्कले पहिलो सफलता दिलाए । उनले भारतीय ओपनर युवा ब्याट्सम्यान शुभमन् गिललाई ४.२ ओभरमा मात्र चार रनमा पेभिलियनको बाटो देखाए ।
सुरूवातबाट नै विकेट गुमाउन सुरु गरेको भारतको टोलीलाई कप्तान रोहित शर्मा र विराट कोहलीले सम्हाल्ने प्रयास गरे । शर्मा पनि ९.४ ओभरमा ४७ रनमा ग्लेन म्याक्सवेलको सिकार हुन पुगे । उनलाई म्याक्सवेलले ट्रभिस हेडको हातबाट क्याच आउट गराए । त्यसपछि आएका श्रेयस अय्यरलाई पनि मात्रै चार रनमा अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले पेभिलियनको बाटो देखाए दिए ।
त्यसपछि भारतीय टोली कोहली र केएल राहुलको भरमा रह्यो । उनीहरूले टोलीलाई अगाडि पनि बढाए । यी दुईले ६७ रनको साझेदारी गरे । कोहलीलाई पनि ५४ रनमा कमिन्सले बोल्ड गराए । त्यसपछि आएका रवीन्द्र जडेजा मैदानको जम्न सकेनन् । उनले मात्रै नौ रन जोड्दा आउट भए । त्यसपछि मैदान प्रवेश गरेका सूर्य कुमार यादवले पनि टोलीका लागि ठूलो रन जोड्न सकेनन् । राहुल ६६ रनमा आउट हुँदा यादव मात्र १८ रनमा आउट भए । कुलदीप यादव १० रनमा रन आउट हुँदा मोहम्मद सिराज नौ रनमा अविजित रहे ।
बलिङ तर्फ अष्ट्रेलियाका मिचेल स्टार्कले तीन, जोश हेजलवुड र कप्तान प्याट कमिन्सले समान दुई तथा ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक एक विकेट हात पारे ।
केही बेरमा अष्ट्रेलिया दुई सय ४१ रनको विजयी लक्ष्य लिएर मैदान प्रवेश गर्ने तयारीमा रहेको छ ।
घरेलु टोली भारत भने जारी विश्वकपमा अपराजित यात्रा कायम गर्ने एक्लो टोली हो । ऊ आज पनि जित निकाल्दै अपराजित रहँदै १२ वर्षपछि एकदिवसीय विश्वकप क्रिकेटको उपाधि चुम्ने दाउमा रहेको छ । उसले हाल सम्म दुई पटक उपाधि उचाली सकेको छ भने अष्ट्रेलियाले पाँच पटक उपाधि उचाली सकेको छ । त्यसकारण उक्त टोलीलाई ‘कङ्गारु’ टोलीको उपनामले चिनिने गरिन्छ ।













