विश्वकपमा अपराजित यात्रा कायम गर्दै १२ वर्षपछि उपाधि उचाल्ने दाउमा भारत

तस्बिर : आईसीसी

कैलाली । गत अक्टोबर ५ तारिक देखि भारतका विभिन्न सहरका रङ्गशालामा भएको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को आज उपाधि भिडन्त हुँदै छ । जसमा पाँच पटकको उपाधि विजेता अष्ट्रेलिया र दुई पटकको उपाधि विजेता घरेलु टोली भारत भिड्दै छन् । कङ्गारु टोलीको उपनामले परिचित अष्ट्रेलिया छैटौँ पटक उपाधि उचाल्ने धुनमा रहँदा भारत घरेलु मैदानको फाइदा उठाउने दाउमा रहेको छ ।

फाइनल खेल भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी रङ्गशालामा नेपाली समयअनुसार २:१५ बजे बाट सुरु हुने छ ।

आईसीसी विश्वकप २०२३ मा फाइनलको यात्रा तय गर्दा सम्म अपराजित यात्रा कायम गर्ने भारत एक्लो टोली हो । उसले समूह चरणमा खेलेका नौ खेलमा शतप्रतिशत जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पाखा लगाउँदै फाइनल प्रवेश गरेको हो । उता अष्ट्रेलिया भने समूह चरणका सुरुवाती खेलमा केही धर्मराए पनि पछि सम्हालिँदै खेल्दा सेमिफाइनल हुँदै फाइनल प्रवेश गरेको हो । फाइनलको होडबाजीमा उसले दक्षिण अफ्रिकालाई तीन विकेटले पाखा लगाएको थियो । उसले समूह चरणमा दुई खेलमा पराजय भोग्नु पर्यो ।

अष्ट्रेलिया आज फाइनलमा भारतसँग समूह चरणमा बेहोरेको हारको बदला लिने दाउमा समेत रहेको छ । समूह चरणमा अष्ट्रेलिया छ विकेटले पराजित हुन पुगेको थियो । उक्त बदला लिँदै उ आज आठ वर्षपछि एकदिवसीय विश्वकप क्रिकेटको उपाधि उचाल्ने धुनमा रहेको छ । उसले पछिल्लो पटक सन् २०१५ मा एकदिवसीय विश्वकप क्रिकेटको उपाधि उचालेको थियो । २०१९ को विश्वकपमा भने उ सेमिफाइनलबाट घर फर्किन पुग्यो ।

यता भारत भने ‘१२ वर्षमा खोलो फर्किन्छ’ भने झैँ १२ वर्षको पर्खाइ पछि उपाधि उचाल्ने धुनमा रहेको छ । अन्तिम पटक २०११ को एकदिवसीय विश्वकप क्रिकेटको उपाधि उचालेको भारत त्यसयताका दुई विश्वकपमा फाइनलसम्म पुग्न सकेन । २०१५ र २०१९ मा सेमिफाइनलमै सीमित हुन पुग्यो । यसपटक आफ्नै घरेलु मैदानको मौका उठाउने दाउमा भारत रहेको छ । उसका विराट कोहली, कप्तान रोहित शर्मा,

श्रेयस अय्यर, केएल राहुल, शुभम् गिल जस्ता ब्याट्सम्यान निकै लयमा रहेका छन् । जसको फाइदा आज पनि भारत उठाउन चाहन्छ । बलिङमा मोहम्मद शमी पनि निकै लयमा रहेका छन् । उनीहरूकै आड भरोसामा भारतीय टोली आज १२ वर्षपछि उपाधि चुम्ने दाउमा रहेको छ ।

तर यता अष्ट्रेलियाका ग्लेन म्याक्सवेल पनि यस विश्वकपमा निकै लयमा रहेका छन् । परी आय उनले टोलीलाई सम्हाल्दै एक्लैले उपाधि दिलाउने क्षमता समेत म्याक्सवेल राख्द छन् । बलिङमा पनि स्पिनर एडम जाम्पा निकै लयमा रहेका छन् । उनले दश खेलमा २१ विकेट हात पारी सकेका छन् । उनी एक्ला विदेशी स्पिनर हुन जुन यस विश्वकपमा भारतीय मैदानमा निकै लयमा रहे ।

भारत र अष्ट्रेलियाको इतिहास

विश्व क्रिकेटको विशाल इतिहास भएका र दशकौँदेखि विश्व क्रिकेटको शिखरमा रहेका यि दुई देशले विश्वकपमा अलगै छाप छाडेका छन् । क्रिकेटका महान हस्ती समेत यिनै दुई देशमा सबै भन्दा बढी रहेका छन् । जो विश्व सामु निकै चर्चामा छन् ।

सन् १९८३ मा कपिल देवको नेतृत्वमा भारतले पहिलो पटक विश्व कप जितेको थियो । अर्को २०११ मा मुम्बईमा महेन्द्रसिंह धोनीको नेतृत्वमा त्यही सफलता दोहोराएको थियो । विश्व क्रिकेटमा दुई पटक मात्रै विश्वकप जित्नु लामो इतिहास भएको भारतका लागि कम उपलब्धि नै मान्न सकिन्छ । आफ्ना समर्थकहरूको नजरमा भारतीय टोली विश्व कप जित्नका लागि अति नै योग्य छ ।

अर्कोतर्फ अस्ट्रेलिया विश्वकप इतिहासकै उत्कृष्ट टोली हो । उसले सन् १९८७, १९९९, २००३, २००७, २०१५ मा गरि पाँच पटक विश्वकप जिती सकेको छ । अष्ट्रेलिया आज पनि उपाधि उचाल्दै आफ्नो शीर्ष कीर्तिमान विस्तार गर्न चाहन्छ । आज भारत आफ्नो घरेलु मैदानमा करोडौं दर्शक सामु मैदान प्रवेश गर्ने छ ।

यी दुई टोली २००३ को विश्वकपको फाइनलमा भिडेका थिए । जहाँ अष्ट्रेलियाले भारतसामु तीन सय ५९ रनको विशाल योगफल खडा गरेको थियो । उता भारत भने दुई सय ३४ रनमा नै समेटिन पुगेको थियो ।

कस्तो छ यी दुई देश बीचको हेड टु हेड नतिजा ?

यि दुई टोलीले हाल सम्म एकदिवसीय क्रिकेटमा जम्मा एक सय ५० पटक भिड्ने मौका पाएका छन् । जसमा अष्ट्रेलियाले ८१ र भारतले ५७ खेल जितेको इतिहास छ । विश्वकपमा १३ पटक आमने सामने भएका यी दुई टोलीले अस्ट्रेलियाले आठ र भारतले पाँच पटक जितेको छ ।

भारतले यसभन्दा पहिलेका विश्वकपमा गरेको प्रदर्शन

१९७५ः समूह चरण

१९७९ः समूह चरण

१९८३ः विजेता

१९८७ः सेमिफाइनल

१९९२ः राउन्ड–रोबिन चरण

१९९६ः सेमिफाइनल

१९९९ः सुपर सिक्स

२००३ः उपविजेता

२००७ः समूह चरण

२०११ः विजेता

२०१५ः सेमिफाइनल

२०१९ः सेमिफाइनल

अष्ट्रेलियाले यसभन्दा पहिलेका विश्वकपमा गरेको प्रदर्शन

१९७५ः उपविजेता

१९७९ः समूह चरण

१९८३ः समूह चरण

१९८७ः विजेता

१९९२ः राउन्ड–रोबिन चरण

१९९६ः उपविजेता

१९९९ः विजेता

२००३ः विजेता

२००७ः विजेता

२०११ः क्वाटरफाइनल

२०१५ः विजेता

२०१९ः सेमिफाइनल

जारी विश्वकपमा यी दुई टोलीका खेलाडीले के रेकर्ड कायम गरे ?

सन् २०२३ को एकदिवसीय विश्वकप क्रिकेटमा थुप्रै विश्व कीर्तिमान कायम हुने आँकलन गरिएको थियो जुन सावित पनि भयो । जारी विश्वकपमा भारतका पूर्व कप्तान समेत रहेका विराट कोहलीले भारतीय खेलाडी सचिन तेन्दुलकरको लामो विश्व कीर्तिमान यस विश्वकपमा भङ्ग गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् । ‘किंग कोहली’ उपनामले चिनिने उनले एकदिवसीय क्रिकेटमा सचिन तेन्दुलकरको तीन कीर्तिमान एकसाथ यस विश्वकपमा तोडेका हुन् ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सेमिफाइनलको खेलमा न्युजिल्याण्डविरुद्ध एक सय १७ रनको शानदार इनिङ्स खेल्दै सचिनका तीन कीर्तिमान एक साथ भङ्ग गरेका हुन् । योसँगै कोहलीले एकदिवसीय क्रिकेटमा कीर्तिमानी ५० औं शतक प्रहार गरेका छन् । कोहली एकदिवसीय क्रिकेटमा ५० शतक प्रहार गर्ने पहिलो खेलाडी बने । कोहलीले सचिन तेन्दुलकरको नाममा रहेको ४९ शतकको कीर्तिमानलाई तोडे ।

उनले न्युजिल्याण्डविरुद्धको खेलमा अर्को कीर्तिमान समेत बनाए । उनले एकै संस्करणको विश्वकपमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान आफ्नो नाममा लेखाए । न्युजिल्याण्डविरुद्ध ८० रन बनाउँदै उनले सचिनकै कीर्तिमानलाई तोडे । सचिनले सन् २००३ को विश्वकपमा छ सय ७३ रन बनाएका थिए । कोहली एकै पटकको विश्वकपमा ५० भन्दा धेरै स्कोर बनाउने ब्याट्सम्यान समेत बनेका छन् । उनले यसमा समेत सचिनकै कीर्तिमान तोडेका छन् । सचिनले सन् २००३ को विश्वकपमा सात खेलमा ५० भन्दा बढीको स्कोर गरेका थिए ।

यस्तै अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४० बलमा शतक प्रहार गर्दै एकदिवसीय विश्वकपमा सबै भन्दा कम बलमा शतक प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा गरे । उनले समूह चरणको खेलमा नेदरल्याण्ड्स विरुद्ध उक्त कीर्तिमान कायम गरेका हुन ।

Share