कङ्गारु टोलीले गर्यो भारतको १२ वर्षपछि उपाधि उचाल्ने सपनामा ब्रेक, हेड बने हिरो

तस्बिर : आईसीसी

कैलाली । आइतबार भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी रङ्गशालामा आईसीसी पुरुष एकदिवसीय विश्वकप क्रिकेट २०२३ सम्पन्न भयो । उपाधिको बलियो दाबेदार मानिएको घरेलु टोली भारत र पाँच पटकको उपाधि विजेता अष्ट्रेलिया उपाधिका लागि भिडे । समूह चरणमा अपराजित यात्रा कायम गर्दै उपाधि होडमा पुगेको भारत आइतबार फाइनलमा पनि उच्च मनोबलका साथ मैदान प्रवेश गर्यो । उता समूह चरणका दुई खेलमा पराजय भिजेको अष्ट्रेलिया भने केही सम्हालिएर केही नयाँ रणनीतिका साथ मैदान उत्रियो । भारत आफ्नै घरेलु मैदानको फाइदा उठाउँदै अपराजित यात्रा कायम गरेर १२ वर्ष पछि उपाधि उचाल्ने धुनमा रहेको थियो । तर फलस्वरूप अन्ततः अष्ट्रेलियाले भारतको उक्त सपना भने सपनामै सीमित गरी दियो । अष्ट्रेलिया छ विकेटले विजयी हुँदै छैटौँ पटक उपाधि उचाल्न सफल भयो ।

जितका लागि भारतले दिएको दुई सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले मात्रै चार विकेट गुमाएर सात ओभर बाँकी छँदै जित हात पार्यो ।

अष्ट्रेलियाको जितमा नायक बने ट्राभिस हेड । ओपनरको रूपमा डेविड वार्नर सँग मैदान पसेका हेडले एक सय २० बलको सामना गर्दै एक सय ३७ रनको शतकीय पारी खेले । उक्त अवधिमा उनले १५ चौका र चार छक्का प्रहार गरे । सुरुवातमा सात रनमा मोहम्मद शामीले वार्नरलाई पेभिलियनको बाटो देखाएपछि केही धर्मराएको टोलीलाई हेडले अन्तिम सम्म साथ दिई रहे । सात ओभरको खेल सकिँदा तीन विकेट गुमाएर जम्मा ४७ रन जोडेको अष्ट्रेलियाको टोलीलाई हेड र मार्नुस लाबुसचेनले सम्हाले ।

१.१ ओभरमा वार्नर आउट भएपछि मैदान प्रवेश गरेका मिचेल मार्श ४.३ ओभरमा मात्रै १५ रन जोडेर पेभिलियनको बाटो फर्किए । यस्तै उनी आउट भएसँगै क्रिजमा आएका अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथ नौ बलको सामना गर्दै मात्रै चार रनमा जसप्रित बुमराहको हातबाट एल बि डब्लु आउट हुँदा टोली ४७/३(६.६) को स्थितिमा थियो । उनी आउट भएसँगै मैदान छिरेका मार्नुस लाबुसचेनले एउटा इन्डबाट हेडलाई साथ दिई रहे । एक सय १० बलको सामना गरेका लाबुसचेनले चार चौकाको मद्दतमा अविजित ५८ रनको अर्धशतकीय पारी खेल्दै टोलीलाई उपाधि दिलाए । हेड आउट भएपछि आएका ग्लेन म्याक्सवेलले मात्रै एक बलमा दुई रन जोड्दै खेल सकाइ दिए ।

सुरुवाती अवस्थामा अष्ट्रेलियाको टोलीलाई धराशायी बनाउन भारतका जसप्रित बुमराहले दुई, मोहम्मद शामी र मोहम्मद सिराजले समान एक विकेट हात पारे ।

यो उपाधिसँगै चुमेसँगै अष्ट्रेलियाले छैटौँ पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जित्न सफल भएको छ । उसो त ‘कङ्गारु’ टोलीको उपनामले परिचित उसले सन् १९८७, १९९९, २००३, २००७, २०१५ हुँदै २०२३ को विश्वकपको उपाधि चुमेको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली भारतले सुरुवात देखि नै खराब प्रदर्शन गरी रहे पनि बीचमा विराट कोहली र केएल राहुलले टोलीलाई सम्हाल्दै चुनौतीपूर्ण लक्ष्य तर्फ अग्रसर गराए । भारतलाई सुरुवातमा नै दबाबमा राखेको अष्ट्रेलियाका लागि मिचेल स्टार्कले पहिलो सफलता दिलाए । उनले भारतीय ओपनर युवा ब्याट्सम्यान शुभमन् गिललाई ४.२ ओभरमा मात्र चार रनमा पेभिलियनको बाटो देखाए ।

सुरूवातबाट नै विकेट गुमाउन सुरु गरेको भारतको टोलीलाई कप्तान रोहित शर्मा र विराट कोहलीले सम्हाल्ने प्रयास गरे । यी दुईले ४६ रनको साझेदारी गरे । शर्मा पनि ९.४ ओभरमा ४७ रनमा ग्लेन म्याक्सवेलको सिकार हुन पुगे । उनलाई म्याक्सवेलले ट्राभिस हेडको हातबाट क्याच आउट गराए । त्यसपछि आएका श्रेयस अय्यरलाई पनि मात्रै चार रनमा अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले पेभिलियनको बाटो देखाई दिए ।

त्यसपछि भारतीय टोली कोहली र केएल राहुलको भरमा रह्यो । उनीहरूले टोलीलाई अगाडि पनि बढाए । यी दुईले ६७ रनको साझेदारी गरे । कोहलीलाई पनि ५४ रनमा कमिन्सले बोल्ड गराए । त्यसपछि आएका रवीन्द्र जडेजा मैदानको जम्न सकेनन् । उनले मात्रै नौ रन जोड्दा आउट भए । त्यसपछि मैदान प्रवेश गरेका सूर्य कुमार यादवले पनि टोलीका लागि ठूलो रन जोड्न सकेनन् । राहुल ६६ रनमा आउट हुँदा यादव मात्र १८ रनमा आउट भए । कुलदीप यादव १० रनमा रन आउट हुँदा मोहम्मद सिराज नौ रनमा अविजित रहे ।

बलिङ तर्फ अष्ट्रेलियाका मिचेल स्टार्कले तीन, जोश हेजलवुड र कप्तान प्याट कमिन्सले समान दुई तथा ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक एक विकेट हात पारे ।

भारतीय टोली उपाधि चुम्न असफल रहेपनि विराट कोहली भने सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले खेल अवधिभरि सात सय ६५ रन जोड्दै एकै विश्वकपमा सबै भन्दा धेरै रन बनाउने खेलाडीको कीर्तिमान समेत आफ्नो नाममा गरे । यस अघि उक्त कीर्तिमान भारतकै सचिन तेन्दुलकरको नाममा रहेको थियो । तेन्दुलकरले २००३ को विश्वकपमा छ सय ७३ रन प्रहार गर्दै उक्त कीर्तिमान आफ्नो नाममा कायम गरेका थिए । तर उक्त कीर्तिमान २० वर्ष पछि भङ्ग भएको हो ।

यस्तै उपाधि भिडन्तमा उत्कृष्ट प्रदर्शन गरेका ट्राभिस हेड प्लेयर अफ दि म्याच घोषित भए । रोमाञ्चक कुरा त के भने २००३ को आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि भिडन्तमा पनि यिनै दुई टोली भिडेका थिए । जसमा पनि अष्ट्रेलियाले नै बाजी मारेको थियो । उक्त बदला लिने मौका भारतले आइतबार पनि गुमायो । २००३ मा अष्ट्रेलियाले भारतलाई एक सय २५ रनको विशाल अन्तरले पाखा लगाउँदै उपाधि चुमेको थियो । जसमा कप्तान रिकी पोन्टिङको एक सय ४० रनको अविजित शतकीय पारीको सहायतामा अष्ट्रेलियाले निर्धारित ५० ओभरमा मात्रै दुई विकेट गुमाएर तीन सय ५९ रनको विशाल योगफल तयार गरेको थियो । तीन सय ६० रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत ३९ ओभर दुई बलमा दुई सय ३४ रनमै समेटिन पुग्यो र उपाधि चुम्न बाट वञ्चित भयो । उक्त बदला लिने अवसर भारतलाई २० वर्षपछि आइतबार थियो तर त्यसमा पनि चुक्यो ।

अन्तिम पटक २०११ को एकदिवसीय विश्वकप क्रिकेटको उपाधि उचालेको भारत आइतबार १२ वर्षपछि उपाधि उचाल्ने धुनमा रहेको थियो तर उक्त सपना अष्ट्रेलियाले पुरा हुन दिएन । ‘१२ वर्षपछि खोला फर्किन्छ’ भन्ने उक्तिलाई आधार मान्दै भारत उपाधि उचाल्ने धुनमा मैदान प्रवेश गरेको थियो । आँकलन पनि सबैले भारतले नै उपाधि उचाल्छ भन्ने गरेका थिए । किनकि ऊ समूह चरण देखि नै जारी विश्वकपमा अपराजित रहने एक्लो टोली पनि थियो । त्यसैले ऊ जारी विश्वकपमा अपराजित यात्रा कायमै राख्दै १२ वर्षपछि उपाधि उचाल्ने धुनमा रहेको थियो । तर अष्ट्रेलियाले उसको अपराजित यात्रामा मात्रै पूर्ण विराम लगाएन । १२ वर्षपछिको पर्खाइमा समेत उसले विराम लगाई दियो ।

यो उपाधि उचालेसँगै अष्ट्रेलिया सबैभन्दा धेरै छ/छ पटक उपाधि उचाल्ने एक्लो देश समेत बनेको छ । उसो त अन्य देशले हाल सम्म पनि दुई पटक भन्दा धेरै उपाधि उचाल्न सकेका छैनन् ।

उपाधि उचालेको अष्ट्रेलियाले कति पायो पुरस्कार ?

उपाधि उचालेको अष्ट्रेलियाले ट्रफीका साथै मोटो रकम नगद पुरस्कार समेत पाएको छ । उसले ४० लाख अमेरिकी डलर अर्थात् ५३ करोड ३० लाख नेपाली रुपैयाँ बराबर नगद पुरस्कार पाएको छ ।

यस्तै उपविजेतामै सीमित बनेको भारतले २० लाख डलर अर्थात २६ करोड ६५ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरेको छ ।

सेमिफाइनलमा पराजित भएका न्युजिल्याण्ड र दक्षिण अफ्रिकाले ८-८ लाख डलर अर्थात् १० करोड ६६ लाख रुपैयाँ नगद प्राप्त गर्दा समूह चरणबाटै घर फर्केका छ टोलीले भने एक/एक लाख डलर अर्थात एक करोड ३३ लाख नेपाली रुपैयाँ पाउने पाएका छन् ।

यसका साथै लिग चरणमा हरेक टोलीले एक जितको ५३ लाख ३० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

Share