काठमाडाैं : काठमाडाैं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह उर्फ बालेन निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहलाई २३ हजार ४ सय २६ मतान्तरले पराजित गर्दै शाह मेयरमा निर्वाचित भएका हुन् । उनले ६१ हजार ७ सय ६७ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी सिंहले जम्मा ३८ हजार ३ सय ४१ मत मात्र प्राप्त गरिन् । यस्तै नेकपा एमालेका ‘हेभि वेट’ उम्मेदवार केशव स्थापितले ३८ हजार १ सय १७ मत मात्र प्राप्त गर्न सके ।
महानगरको उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डङ्गोल भारी मतका साथ विजयी भइन् । डङ्गोलले सत्ता गठबन्धनकै तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठलाई ४४ हजार ८ सय ६ मतान्तरले पराजित गर्दै विजयी भइन् । उनले ६८ हजार ६ सय १२ मत ल्याउँदा श्रेष्ठले जम्मा २३ हजार ८ सय ६ मात्र प्राप्त गर्न सके । सुरुवाती चरणबाट नै शाह र डङ्गोलले अग्रता कायम गर्दै आएका थिए । मेयर शाह सांगितिक पृष्ठभुमिका हुन् भने उपमेयर डंगाेल पुर्व मिस नेवा समेत हुन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनकाे संघिय राजधानिकाे मतपरिणाम बिहिवार राति मात्र सार्वजनिक भएकाे हाे । काठमाडाैंमा १ लाख ९० हजार ९ सय ६२ मत खसेको थियो भने ७ हजार ६ सय मत बदर भएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।













