कैलाली । १९ औँ एसियाडमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधवार बिहान मङ्गोलियाविरुद्ध पहिलो खेलमा चार कीर्तिमान बनाएकाे छ । आईसीसी वरीयतामा समावेश नभएको देशविरुद्ध खेल्दा नेपालले चीनको हाङजाओस्थित क्रिकेट मैदानमा कीर्तिमानै कीर्तिमान बनाउँदै ऐतिहासिक जित दर्ता गरेकाे छ ।
भर्खरै सम्पन्न एसिया कपमा भारत र पाकिस्तानसँग पहिलो पटक खेल्ने अवसर पाएको नेपाली टोलीले श्रीलङ्काबाट फिर्ता भइसकेपछि विभिन्न सञ्चार माध्यममा आफूहरूले थुप्रै कुरा सिक्न पाएको भन्दै अनुभव सुनाई रहेका थिए । तत्पश्चात् एसिया कप पछि नेपालले आज पहिलो खेल खेल्यो । जसमा यस्ता विश्व कीर्तिमान कायम गर्यो जुन कुनै कुनै कीर्तिमान त भङ्ग गर्न नसकिने किसिमका छन् ।
नेपालले मैदानमा सबैभन्दा छिटो शतक र अर्धशतक, सबैभन्दा उच्च योगफल तथा सबैभन्दा बढी रनले जित्ने देशको विश्व कीर्तिमान कायम गरेकाे छ ।।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि सबैभन्दा पहिलो विश्व कीर्तिमान युवा ब्याट्सम्यान कुशल मल्लले बनाए।
उनले ३४ बलमा शतक बनाएर सबैभन्दा छिटो शतक बनाउने खेलाडीको सूचीको पहिलो स्थानमा आफ्नो नाम लेखाए । । यसअघि टी २० मा सर्वाधिक छिटो शतक ३५ बलमा थियो। जुन भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक प्रहार गरेका थिए।
दोस्रो कीर्तिमानको रूपमा नेपालका अलराउन्डर पूर्व उपकप्तान दिपेन्द्रसिंह ऐरीले सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडीको सूचीमा आफ्नो नाम टिपाउन सफल रहे । उनले मात्रै नौ बलमा अर्धशतक बनाउँदै रेकर्ड कायम गरे। ऐरीले १९औँ ओभरमा लगातार पाँच छक्का प्रहार गरेका थिए।
उनले नौ बलमै अर्धशतक पूरा गर्दै भारतीय ब्याट्सम्यान युवराज सिंहको १२ बलको विश्व कीर्तिमान भङ्ग गरेका हुन् ।
यस्तै नेपालले टी २० अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च योगफल बनाएको छ। नेपालले निर्धारित २० ओभरमा मात्रै तीन विकेट गुमाउँदै तीन सय १४ रन बनायो।
यो टी २० इतिहासकै उच्च योगफल हो। यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रन बनाएका थिए।
यस्तै नेपालले मङ्गोलियालाई दुई सय ७३ रनले पराजित गरेसँगै सबैभन्दा ठूलो अन्तरले जित्ने टोलीको विश्व कीर्तिमान समेत आफ्नै नाममा राख्यो।
यसअघि उक्त कीर्तिमान चेक रिपब्लिकको नाममा थियो। उसले टर्कीलाई दुई सय ५७ रनले पराजित गरेको थियो।
आजको खेलमा सुरुवाती चरणमा केही धरमराएको नेपाली ब्याटिङ लाइन तब अघि बढ्यो जब कुशल मल्ल क्रिजमा आए । सुरुमा ७.२ ओभरको खेल सकिँदा नेपालले दुई विकेट गुमाएर जम्मा ६६ रन बनाएको थियो । ओपनर कुशल भुर्तेल १९ र ओपनर तथा विकेट किपर आशिफ शेख १६ रनमा पेभिलियन फर्किए पछि । कप्तान रोहित कुमार पौडेल र मल्लले टोलीलाई अगाडि बढाए । सुरुवात देखि नै आक्रामक देखिएका मल्लले १९ बलमा अर्धशतक प्रहार गरे । उनी खेल अवधिभर नै आक्रामक नै देखिए मात्रै ५० बलको सामना गरेका उनले १२ छक्का र आठ चौकाको मद्दतमा एक सय ३७ रनमा अविजित रहे । यस्तै कप्तान पौडेलले २७ बलको सामना गर्दै छ छक्का र दुई चौकाको सहयोगमा ६१ रनको अर्धशतकीय पारी खेल्दा उनी आउट भएपछि आएका ऐरी झनै आक्रामक देखिए । मात्रै नौ बलमै अर्धशतक प्रहार गरेका उनले १० बलमा आठ छक्का प्रहार गर्दै ५२ रनमा अविजित रहे । नेपालले एकै इनिङमा २६ छक्का प्रहार गर्यो ।
तीन सय १५ रनको विशाल विजयी लक्ष्य लिएर जबाफी ब्याटिङमा उत्रिएको मङ्गोलिया १३ ओभर एक बल खेल्दै ४१ रनमा समेटिन पुग्यो । नेपाली बलरका सामु मङ्गोलियाका ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् ।
उसका लागि दावासुरेन जम्यानसुरेनले १० रन बनाउन बाहेक बाँकी १० जनाले दोहोरी अङ्कमा समेत रन जोड्न सकेनन् । उसका पाँच जना ब्याट्सम्यान शून्य रनमा पेभिलियन फर्किए । यस्तै तीन जना समान एक रनमा क्रिजबाट बाहिरिए ।
नेपालका लागि बलिङ तर्फ गुल्सन झा बाहेक सबैले विकेट हात पारे । दुई ओभर बलिङ गर्दै एक ओभर मेडन राख्दै मात्रै एक रन खर्चिएर करण केसीले दुई विकेट हात पारे । यस्तै समान दुई ओभर बलिङ गरेका सन्दीप लामिछाने र अविनाश बोहराले पनि समान एक ओभर मेडन राख्दै दुई/दुई विकेट हात पारे । यस्तै सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले एक/एक विकेट हात पारे ।












