कैलाली । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज तोकिएको पेसी पनि स्थगित भएको छ । फैसलाको चरणमा पुगिसकेको मुद्दामा पेसी सुनवाइ स्थगित भएको आज लगाएर १७औँ पटक हो ।
न्यायाधीश अभावको कारण देखाउँदै उनको मुद्दा पेसी नचढेको बताउँदै स्थगित गर्दै आइरहेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीशहरूले विभिन्न बहाना बनाएर मुद्दाको फैसलालाई पछि धकेल्दै आइरहेका छन् । केही दिनअघि मात्रै केही न्यायाधीशको सरुवा तथा केही बढुवा भएका थिए । सरुवा भएका न्यायाधीशहरूले गोला ताने पनि इजलासमा नबस्ने प्रवृत्तिले यस्तो अवस्था आइरहेको हो । सरुवा भएर आउने न्यायाधीश पनि अदालतमा रमाना लिएर नआइसकेकाले मुद्दाको सुनुवाइ स्थगित घोषणा गरिएको जनाइएको छ ।
लामिछानेको मुद्दा हेर्न जिल्ला अदालतका न्यायाधीशहरू अनिच्छुक देखिँदै आएका छन् । मुद्दाको फैसला आफूले गर्न नपरोस् भन्ने सबै न्यायाधीशहरूको चेष्टा रहँदै आएको छ । जे फैसला गर्दा पनि विवादित हुन सक्ने चिन्तामा न्यायाधीशहरू यसबाट पन्छिने बहाना खोज्दै छन् ।
उनको मुद्दामा पेसी तोकिएको आज २९ औँ पटक थियो । मुद्दाको फैसला पेसी १७ औँ पटक स्थगित भएको छ । मुद्दा फैसला चरणमा प्रवेश गरेको सात महिना भइसकेको छ । पहिलो फैसला पेसी गत माघ ९ गते नारायणप्रसाद दाहालको इजलासमा परेको थियो । उक्त पेसी जिल्ला सरकारी वकिलको कार्यालयबाट स्थगित गराइएको थियो । त्यसपछि माघकै २३ गते चन्द्रप्रकाश तिवारीको इजलासमा तोकिएको पेसी पनि जिल्ला सरकारी वकिल कार्यालयले नै स्थगित गरायो ।
त्यसयता, यो मुद्दा न्यायाधीशहरू क्रमशः फणीन्द्रप्रसाद पराजुली, दीपक ढकाल, माधवप्रसाद घिमिरे, केशव प्रसाद घिमिरे, शंकरराज बराल, नारायणप्रसाद दाहाल, दीपक ढकाल, फणीन्द्रप्रसाद पराजुली, सङ्कर बहादुर राई, राजकुमार खतिवडा, प्रकाशप्रसाद पण्डित, शकुन्तला कार्कीको इजलासमा परेको छ । उनीहरू सबैले कुनै न कुनै बहाना बनाएर मुद्दाको सुनवाइ टार्दै आएका छन् । सोही अवस्थालाई आज पनि न्यायाधीशहरूले दोहोर्याए ।
आज पेसी स्थगित भएसँगै अब लामिछाने सोमबार चीन जाने भएका छन् । १९ औँ एसियाली खेलकुदमा सहभागी हुन नेपाली क्रिकेट टोली आज चीन तर्फ प्रस्थान गर्ने भएको छ । नेपाली टोलीको आज एक समारोहका बिच बिदाइ गरेको छ ।

लामिछाने भने मुद्दाकै कारण आज जान पाएनन् ।













