कैलाली । नेपाली क्रिकेट टोलीको अभिभावक संस्था नेपाल क्रिकेट सङ्घले शनिवार नयाँ नेतृत्व चयन गरेको छ । असोज ५ र ६ गते काठमाडौंको नयाँ बानेश्वरमा सम्पन्न साधारण सभा तथा अधिवेशनले चार वर्षका लागि नेतृत्व चयन गरेको हो । लगातार तेस्रो पटक क्यानको अध्यक्षको पदमा विराजमान हुँदै चतुर बहादुर चन्दले ह्याट्रिक गरेका छन् ।
उसो त क्यानको नेतृत्वबाट चन्दलाई हटाउनु पर्ने चौतर्फी दबाब थियो तर उनले क्यान निर्वाचनमा आफ्नो बलियो पकड बनाएकै कारण अन्यले उनीसँग निर्वाचनमा होम्मिन आँट गरेनन् । चन्दको नेतृत्व प्रति असन्तुष्टि जनाउँदै गत माघ १७ गते पोखरामा सुरु भएको कार्यसमितिको बैठकको सुरुमै सात जनाले अध्यक्ष चन्दलाई लिखित पत्र बुझाएर राजीनामा माग गरेका थिए ।
उनको राजीनामा माग्नेमा केन्द्रीय सदस्य ऋषिराम गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी रहेका थिए ।
त्यति मात्रै होइन अध्यक्ष चन्द सहित कार्यसम्पादन समितिका प्रशान्त विक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काको पनि राजीनामा माग गरेका थिए । मल्ल हाल केन्द्रीय सचिवमा पारस खड्कासँग चुनावी मैदानमा होम्मिएका थिए तर उनी पराजित हुन् पुगे ।
पहिलो पटक नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गरेको नेपाल टी २० लिग स्पट फिक्सिङमा मुछिएपछि अध्यक्षको राजीनामा माग गरेका थिए।
नेतृत्वमा आफू आएपछि आमूल परिवर्तन गरेको भन्दै भन्दा पुनः अध्यक्षमा आफै आउने गरी तयारीमा लागेका थिए । उनले आफू नेतृत्वमा आएपछि नेपाली क्रिकेटमा थुप्रै उपलब्धि हासिल गरेको बताउदै आएका छन् ।
अन्ततः उनले भने बमोजिम नै उनी शनिवार सर्वसम्मत अध्यक्षमा चयन भए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले क्यानको नेतृत्वमा आउन दौडधुप गरी रहे पनि चन्द नै आउने निश्चित भएपछि खड्काले अध्यक्षमा चन्दलाई सघाउँदै आफू सचिवमा उठ्ने तयारी गरेसँगै उनी सचिवका लागि चुनावी मैदानमा उत्रिए । उनी विरुद्ध प्रशान्त विक्रम मल्लले आफ्नो उम्मेदवारी दिए तर चन्दको साथ पाएपछि खड्का निर्वाचित भए । मल्ल क्यानका बहालवाला सचिव समेत हुन्।
कुल ८५ मतदाता रहेको क्यानमा खड्काले ४८ मत प्राप्त गर्दै निर्वाचित भए । उनका प्रतिद्वन्द्वी मल्लले ३७ मत मात्रै प्राप्त गर्न सके । मल्ल दशकभन्दा बढी नेपाली टोलीमा रहेर क्रिकेट खेलेका खेलाडी समेत हुन् । एक दशक टोलीको कप्तानी गरेका खड्का सन्न्यास लिएको दुई वर्षपछि नै वाग्मती प्रदेश क्रिकेटको अध्यक्ष हुँदै क्यान केन्द्रीय कार्यसमितिको सचिव बनेका हुन्।
यस्तै अध्यक्षमा चन्द सहित उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का पनि निर्विरोध निर्वाचित भएका थिए ।
त्यस्तै कोसी प्रदेशबाट अर्जुन पौडेल, वाग्मतीबाट दिवाकर घले, गण्डकीबाट सुदीप शर्मा, लुम्बिनीबाट प्रदीप मजगैया, कर्णालीबाट श्रीधर केसी र सुदूरपश्चिम प्रदेशबाट विक्रम विष्ट निर्वाचित भए । मधेस प्रदेशमा मोहम्मद दाउद अन्सारी र माधव कर्माचार्यले तथा खुलातर्फ ऋषिराम गौतम र करण महतारा क्षेत्रीले बराबर मत ल्याउँदा गोला प्रथामा पुगेको थियो। जसमा कर्माचार्य र महतारा विजयी भए।
खुला केन्द्रीय सदस्यमा दुर्गाराज पाठक, धिरेन्द्र साउद, आयुष श्रेष्ठ, वीरेन्द्र बहादुर चन्द निर्वाचित भए।
चन्द यसअघि २०७६ सालमा भएको क्यानको निर्वाचनमा समेत अध्यक्षमा निर्वाचित भएका थिए । तत्कालीन अवस्थामा उनले पूर्व अध्यक्ष समेत रहेका विजयराज पाण्डेलाई भारी मतान्तरले पराजित गरेका गरेका थिए जसमा चन्दले ४४ मत ल्याउँदा पाण्डेले १५ मत मात्रै पाएका थिए ।
चन्द त्यो भन्दा अगाडि पनि क्यानको अध्यक्ष थिए । उनकै नेतृत्वमा रहेको नेपाल क्रिकेट सङ्घमा आर्थिक पारदर्शिता लगायतका विषयमा आईसीसीले प्रश्न उठाइरहेका बेला सरकारले छुट्टै तदर्थ समिति बनाएको थियो । लगत्तै आईसीसीले सरकारी हस्तक्षेप भएको भन्दै २०७३ वैशाखमा क्रिकेट सङ्घलाई निलम्बन गरेको थियो । क्रिकेट सङ्घलाई निलम्बन गरे पनि राष्ट्रिय टोलीलाई भने खेल्न दिएको थियो । निलम्बन हुँदाका बखत पनि चन्द नै क्यानको नेतृत्वमा रहेका थिए ।














