तिला कर्णाली बचत तथा ऋण सहकारीकाे १२ औं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । तिला कर्णाली बचत तथा ऋण सहकारी संस्थाकाे १२ औं वार्षिक साधारण सभा सम्पन्न  भएकाे छ । कैलालीको घोडाघोडी नगरपालिका २ साँडेपानि स्थित दशरथ उच्च माध्यमिक विध्यालयकाे सभाहलमा आज कार्यक्रम सम्पन्न भएकाे हाे । सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरीकाे प्रमुख आतिथ्यमा सम्पन्न  कार्यक्रममा सहकारीकाे आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन समेत पेस गरिएकाे थियाे  ।

साधारण सभालाई सम्बोधन गर्दै राज्यमन्त्री चौधरीले ‘कृषि अनुदानमा पहुँचवालाकै हालीमुहाली हुने भएकाले वास्तविक किसान अनुदानबाट वञ्चित हुनु परेको’ भन्दै अनुदानमा देखिएको विद्यमान अवस्थालाई निरुत्साहित गरी वास्तविक किसान समक्ष अनुदान पुर्याउन प्रभावकारी अनुगमन गर्नु पर्ने बताए ।

राज्यमन्त्री चौधरी साधारण सभालाई सम्बोधन गर्दै

२०६८ सालमा स्थापना भएको तिला कर्णालीले छोटो समयमै महत्वपुर्ण उपलब्धि हासिल गरेको छ। सहकारीले ३२ जना शेयर सदस्यहरूको १२ हजार पाँच सय २५ रुपैयाँ शेयर पूँजी र नियमित ५० रुपैयाँ बचत गरि दुई लाख ५० हजार रुपैयाँबाट कारोबार सुरु गरेको थियाे ।

सहकारीका हाल सम्म दुई हजार एक सय ११ जना शेयर सदस्य छन्  भने  ११ करोड ७३ लाख २२ हजार बराबरको आर्थिक कारोबार गर्दै आएको छ । सहकारीले ग्रामीण समुदायमा छरिएर रहेका पुँजीलाई सहकारीका माध्यमबाट एकीकृत गरी सदस्यहरूको जीवनस्तर माथि उकास्ने मुख्य ध्येय राखेको तिला कर्णाली बचत तथा ऋण सहकारीका व्यवस्थापक लाल बहादुर भण्डारीले बताएका छन् ।

कार्यक्रममा राज्यमन्त्री चौधरीसहित सुदूरपश्चिम प्रदेश सभा सदस्य खुसीराम चौधरी, घाेडाघाेडी नगरपालिकाका प्रमुख खडक बहादुर रावत उपप्रमुख गुलिया कुमारी चाैधरी लगायत सहकारीका शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहकारीले दैनिक बचत, बाल बचत, ऐच्छिक बचत, आवधिक बचत, सदस्य सुरक्षण र सुपर सेभिङका उत्कृष्ट बचतकर्तालाई सम्मान समेत गरेको थियाे ।

Share