कैलाली । कैलालीको टीकापुर घटनामा दोषी ठहर भई मुद्दा खेपिरहेका सबै कैदी बन्दी रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारी छ सय ७० जनालाई आममाफी दिएका थिए । जसमा टीकापुर घटनामा संलग्न चार जना समेत परेका थिए । अन्ततः आममाफी पाएपछि चारै जना आज बुधवार कारागारमुक्त भएका छन् ।
रिहा भएका तीन जना कैलाली जिल्ला कारागारमा रहेका थिए भने एक जना बाल सुधार गृहमा रहेका थिए । कैलाली कारागारमा रहेका टीकापुर नगरपालिका ४ ठाह्रापुरका ४१ वर्षीय वीरबहादुर चौधरी, जानकी गाउँपालिका ७ मोतीपुरका २५ वर्षीय हरिनारायण चौधरी र जानकी गाउँपालिका ७ लट्कनियाका २५ वर्षीय प्रदीप चौधरी रिहा भएका हुन् । उनीहरू टीकापुर घटना मुद्दामा आठ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए । उनीहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा दोषी ठहर गरेको थियो ।
त्यस्तै यही घटनामा माफी मिनाहा पाएका पोखराको बाल सुधार गृहमा रहेका जानकी गाउँपालिका ७ लट्कनियाका श्रवण चौधरी पनि छुटेका छन् ।
थरुहट प्रदेशको माग गर्दै २०७२ साल भदौ ७ गते टीकापुरमा भएको झडपमा आन्दोलनकारीको आक्रमणमा परी प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालक गरी आठ जनाको हत्या भएको थियो। सर्वोच्च अदालतले यस घटनालाई बिर्सनु पर्ने तर बिर्सन नसकिने जघन्य आपराधिक घटना भने पनि राजनीतिक लेनदेनका आधारमा सरकारले यसअघि नै यस घटनाका मुख्य योजनाकार भनिएका रमेशलाल चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिएको थियो । कतिपयले यस घटनालाई ‘टीकापुर नरसंहार’ समेत भन्दै आएका छन् ।
सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहँदा अन्य कैदीहरूको बाँकी कैद समेत सरकारको सिफारिसमा राष्ट्रपतिले मिनाहा गरिदिएको छ । यसअघि रिहा भएका रेशमको भने एकै घटनामा दोषी ठहरिएका अन्य जेलमै रहेको र एक्लै रिहा भएको भन्दै कतिपयले विरोध समेत गर्दै आएका थिए ।
रेशमले आफू जेलमै रहँदा नागरिक उन्मुक्ति पार्टी गठन गरेर प्रतिनिधि सभा र प्रदेशमा जितेपछि कैद मिनाहा र माफीमा सत्ता सौदाबाजी गर्न सहज भएको थियो। रेशमकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी हाल नेपाल सरकारकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रहेकी छन् । यस्तै सुदूरपश्चिम प्रदेशमा समेत नागरिक उन्मुक्ति सरकारमा सहभागी भएको छ ।
रिहा भएका उनीहरूलाई नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेशलाल चौधरी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, सङ्घीय सांसद गङ्गाराम चौधरी, अरुण चौधरीका साथै प्रदेश सरकारका मन्त्री, सांसदलगायतले कारागारभित्रै अबिर जात्रासहित स्वागत गरेका बताइएको छ ।













