महासङ्घलाई आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन सरकारको आह्वान

कैलाली । सरकारले संसद्मा पेश गरेको शिक्षा विधेयक, २०८० प्रति आपत्ति जनाउँदै यहीँ असोज ३ गते संविधान दिवसको दिनदेखि आन्दोलन घोषणा गरेको नेपाल शिक्षक महासङ्घलाई सरकारले वार्तामा बोलाएको छ ।

शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासङ्घले देशभरका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गर्ने घोषणा यसअघि नै गरिसकेको छ ।

नेपाल शिक्षक महासङ्घले यसअघि नै आन्दोलनको घोषणा गर्दै जारी गरेको विज्ञप्ति

आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न माग राखी असोज ३ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रति नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव भगवान अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा महासङ्घलाई मन्त्री अशोक राईको संयोजकत्वमा वार्तामा सामेल हुन विज्ञप्तिमार्फत आह्वान समेत गरेका छन् ।

महासङ्घले उठाएका कतिपय मागहरू विधेयकमा समावेश गरिएको समेत जारी विज्ञप्तिमा दाबी गरिएको छ भने कतिपय मागहरू विधेयक पारित भएपछि नियमावली तथा सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेको बताउँदै महासङ्घलाई वार्ताका लागि बोलाइएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार महासङ्घले घोषणा गरेका विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी भोलि मंगलबार दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा हुने वार्तामा सहभागी हुन नेपाल शिक्षक महासङ्घलाई भनिएको छ ।

शिक्षक महासङ्घलाई वार्तामा आउन आह्वान गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्ति
Share