कैलाली । एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले चुमेको छ । आइतबार श्रीलङ्काको राजधानी कोलम्बो स्थित आर प्रेमदास अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको उपाधि भिडन्तमा घरेलु टोली श्रीलङ्कामाथि १० विकेटको सानदार जित हात पार्दै भारतले आठौँ पटक उपाधि चुमेको हो ।
भारतले पछिल्लो पटक २०१८ मा एसिया कपको उपाधि हात पारेको थियो। एसिया कपको उपाधि भिडन्तमा विकेटको आधारमा तय भएको यो हाल सम्मकै सबैभन्दा ठूलो जित हो।
घरेलु टोली श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य भारतले बिना विकेट छ ओभर एक हलमा पूरा गर्यो । उसका लागि ईशान किशनले अविजित २३ र शुभमन गिलले अविजित २७ रन जोडे।
त्यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलङ्का १५ ओभर दुई बलमा सबै विकेट गुमाएर जम्मा ५० रनमै समेटिन पुग्यो ।
घरेलु टोलीको ब्याटिङ लाइन ध्वस्त पार्न भारतका मोहम्मद सिराज नायक बने । उनको घातक बलिङका अगाडि श्रीलङ्कन ब्याट्सम्यान निरीह बने । आफ्नो क्रिकेट जीवनकै उत्कृष्ट बलिङ गरेका उनले सात ओभरमा एक मेडन राख्दै २१ रन खर्चिएर छ विकेट हात पारे ।
यस्तै हार्दिक पाण्ड्याले २ ओभर दुई बल बलिङ गर्दै तीन विकेट लिए भने जसप्रति बुमराहले एक विकेट हात प्राप्त गरे ।
श्रीलङ्काका लगि कुशल मेन्डिसले १७ र डुशान हेमन्थले अविजित १३ रन जोड्दा बाँकी नौ जना ब्याट्सम्यानले दोहोरो अङ्कमा समेत रन जोड्न नपाइ पेभिलियन फर्किए । जसमा पाँच ब्याट्सम्यानले त खाता नै खोल्न सकेनन्।
सिराजले चौथो ओभरमा मात्रै चार विकेट लिएका थिए। उनले सो ओभरको पहिलो बलमा पाथुन निशंकालाई दुई रनमा रविन्द्र जडेजाबाट क्याच गराए। तेस्रो बलमा सदीरा समाब्रिक्रमालाई एलबिडब्लूको धरापमा पारे।
चौथो बलमा चारिथ असालंकालाई शून्यमा ई शान किशनबाट क्याच गराए। यस्तै छैटौँ बलमा उनले धनञ्जय डी सिल्भालाई चार रनमा विकेट किपर केएल राहुलको हातबाट क्याच गराएका थिए।
त्यसअघि श्रीलङ्काले इनिङको तेस्रो बलमा कुशल परेरालाई गुमाएको थियो। उनी जसप्रित बुमराहको बलमा आउट भएका थिए।
श्रीलङ्काले चौथो ओभर सकिँदा पाँच विकेट गुमाई सकेको थियो । जस कारण उ सुरुवातै सङ्कटमा परेको थियो।
५० रन श्रीलङ्काको एक दिवसीय इतिहासकै दोस्रो कम योगफल हो। एक दिवसीय खेलमा श्रीलङ्काको सबैभन्दा कम आँकडा भने २०१२ मा दक्षिण अफ्रिकाविरुद्ध बनाएको ४३ रन हो।













