कैलाली । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा भारत बङ्गलादेशसँग छ रनले पराजित भएको छ । गए राति श्रीलङ्काको कोलम्बोमा सम्पन्न खेलमा भारतलाई पराजित गर्दै बङ्गलादेशले एसिया कपबाट सुखद अन्त्य गरेको छ । सुपर फोर अन्तर्गत सुरूवाती दुई खेलमा पराजित भएको बङ्गलादेश उपाधि होड बाट भने यस अघि नै बाहिरी सकेको थियो । शुक्रबारको खेल उसको प्रतिष्ठाको लागि मात्रै रहेको थियो ।
बङ्गलादेशले दिएको दुई सय ६६ रनको विजयी लक्ष्य पछ्याएको भारत अन्तिम बल खेल्न बाँकी छँदा सबै विकेट गुमाएर दुई ५९ रनमै समेटिन पुग्यो ।
अन्तिम ओभरमा भारतलाई जितका लागि १२ रन चाहिएको थियो । उसको एक विकेट बाँकी थियो । जसमा बङ्गलादेशका तान्जिम हसन शकिबले भारतका मोहमद शमीविरुद्ध पहिलो चार बलमा चार रन मात्र खर्चिए। पाँचौँ बलमा शमी रन आउट भएसँगै उसले छ रनको सनसनीपूर्ण जित हात पार्यो ।
भारतका लागि ओपनर शुभमन् गिलले एक सय २१ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । एक सय ३३ बलको सामना गरेका गिलले आठ चौका र पाँच छक्का प्रहार गरे । यस्तै अक्षर पटेलले ४२ रनको पारी खेल्दा सूर्य कुमार यादवले २६ रन बनाए । बाँकी ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । उसका ओपनर ब्याट्सम्यान कप्तान रोहित शर्मा शून्य रनमा पेभिलियन फर्किए ।
बलिङ तर्फ बङ्गलादेशका मुस्ताफिजुरले तीन विकेट लिँदा तान्जिम र मेहदी हसनले सामान दुई विकेट हात पार्दा कप्तान शकिब अल हसन र मेहदी हसनले एक/एक विकेट लिए ।
त्यसअघि कोलम्बो स्थित आर. प्रेमदास अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई ६५ रनको आँकडा तयार गर्यो । उसका लागि शकिब अल हसनले ८० मेहदी हसनले ५४ रनको अर्धशतकीय पारी खेल्दा नसुम अहमदले ४४ रनको योगदान दिए। यस्तै मेहदी हसन २९ रनमा अविजित रहे।
बलिङतर्फ शार्दूल ठाकुरले तीन तथा मोहम्मद शमीले दुई विकेट हात हात पार्दा प्रसिद्ध कृष्णा, रवीन्द्र जडेजा र अक्षर पटेलले एक/एक विकेट लिए ।
यससँगै एसिया कपको सुपर फोरका खेल सकिएका छन्। यस प्रतियोगिताको फाइनल खेलमा आइतबार आयोजक श्रीलङ्का र भारतबिच भिडन्त हुने भएको छ ।













