सार्की र शेखलाई बाहिर राख्दै एसियन गेम्सका लागि नेपाली टोलीको घोषणा, भण्डारीको आगमन

तस्बिर : क्यान
कैलाली । नेपाल क्रिकेट सङ्घ क्यानले १९औँ एसियन गेम्सका लागि शुक्रवार रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । क्यानले घोषणा गरेको १५ सदस्यीय टोली भित्र नियमित रूपमा रहेका आरिफ शेख र भीम सार्कीले स्थान पाएका छैनन् । भने लामो समय देखि नेपाली टोली भन्दा बाहिर रहेका विकेट किपर ब्याट्सम्यान विनोद भण्डारीले एक पटक फेरी टोलीमा स्थान बनाएका छन् ।
टोलीमा कप्तान पौडेलसहित करण केसी, प्रतिश जिसी, आसिफ शेख,  कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी र कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेक कुमार यादव, अविनाश बोहरा र सन्दीप लामिछाने रहेका छन् ।
यस्तै भण्डारीको पुनरागमन हुँदा विवेक कुमार यादव र अविनाश बोहराले पनि सिनियर टोलीमा स्थान बनाएका छन् । बोहरा पनि लामो समय पछि टोलीमा परेका हुन् ।
 एसिया कप खेलेका भीम सार्की र आरिफ शेख भने टोलीमा पर्न असफल रहे । एसिया कप क्रिकेटका लागि टोलीमा परेका अर्जुन साउद, श्याम ढकाल र किशोर महतोले पनि टोलीमा स्थान बनाउन सकेनन् । चीनको आयोजनामा हुन लागेको १९औँ एसियन गेम्सअन्तर्गत नेपालले समूह चरणमा जापान र कम्बोडियासँग खेल्ने समय तालिका रहेको छ ।