अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि आज पहिलो पटक बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दै नेपाल 

 

कैलाली । उसो त नेपाल र भारत एक अर्काका परिपुरक जस्तै छिमेकी राष्ट्र हुन । अझै भनौँ भारत र नेपालको सम्बन्ध रोटी बेटीको सम्बन्ध हो भनेर भनिन्छ । हर कुरामा नेपाललाई भारतले बेला बखत सहयोग पनि गर्दै आएको छ । तर, यति निकट छिमेकीसँग खेलकुद जगतमा भने अझै काँधमा काँध जुधाएर खेल्ने अवसर भने पाएको छैन । अझै भनौँ क्रिकेटमा नेपालले भारतको राष्ट्रिय क्रिकेट टोलीसँग खेल्ने अवसर भने हालसम्म पनि पाएको छैन ।

छिमेकी राष्ट्र भारतले विश्व क्रिकेट जगतमा प्रभुत्व जमाउन थालेको करिब चार दशक भए पनि एसोसिएट टोलीको रूपमा रहेको नेपाललाई भने हाल सम्म पनि भारतीय बरिष्ठ (सिनियर) टोलीसँग खेल्ने कहिल्यै मौका नै जुरेको छैन । यति सम्म कि नेपालले सन् २०१४ मा टी २० विश्वकप खेल्दा समेत भारत जस्ता कयौं बलिया राष्ट्र सँग खेल्ने अवसर नै पाएन ।

तर, यस पटक नेपाललाई त्यो सुनौलो अवसर प्राप्त भएको छ कि आफू भन्दा वरियतामा कयौं गुणा अगाडि रहेका पाकिस्तान र भारतसँग खेल्ने मौका पाएको छ । गत बुधबार आईसीसीको एकदिवसीय वरियतामा एक नम्बरमा रहेको पाकिस्तानको सामना गर्यो । जसमा नेपाल दुई सय ३८ रनले पराजित भयो । त्यसमा नेपालको हार जितको कुरा ठूलो हैन नेपालले पाएको अवसर सबै भन्दा ठूलो हो । जसमा पनि पाकिस्तान जस्तो बलियो राष्ट्रलाई तिन सय ४२ रनमै रोक्नु नेपालका लागि कुनै चानचुने कुरा हुँदै हैन । त्यस खेलमा गरेका दुई ओटा रन आउट सम्भवतः यस सिजनको एसिया कपकै उत्कृष्ट ठहरिने छन् । आफूले कहिल्यै सामना नगरेका तेज गतिका बलरको सामना समेत गरे, जसले नेपाललाई ठूलो सफलता मिलेको छ आगामी दिनको लागि ।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षसम्म पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि छिमेकी राष्ट्र भारत बिरानो जस्तै भयो। उसको आसपास जाने समेत कुनै मौका पाएन ।

नेपालले भारतका यू-१९ टोली र ‘ए’ टोलीसँग भने विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरेको छ। पछिल्लो पटक नेपालले भारतको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गरेको दुई महिना पनि पूरा भएको छैन। एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत नेपाल र भारतबीच श्रीलङ्कामा प्रतिस्पर्धा भएको थियो। समूह चरणको खेलमा नेपालले राम्रो खेल प्रदर्शन गर्न भने सकेन। नेपाल एक सय ६७ रनमा सबै विकेट गुमाएर समेटिन पुग्यो । उक्त खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले ६५ रनको अर्धशतकीय पारी खेलेका थिए । अन्ततः भारत नौ विकेटले विजयी भयो जसमा भारतका लागि आइपिएलको अनुभव बटुलेका साइ सुदर्शन र अभिषेक शर्माले अर्धशतक समेत प्रहार गरे।

भारतका उमेर समूहका टोलीसँग सधैँ नेपालले संघर्ष गर्ने गरेको छ। यद्यपि २०१७ मा भने नेपालले भारतको यू-१९ टोलीलाई हराएर रेकर्ड बनाएको थियो। मलेसियामा भएको यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतमाथि १९ रनको सनसनीपूर्ण जित निकालेर इतिहास बनाएको थियो। नेपालले कुनै पनि स्तरमा भारतलाई हराएको त्यो पहिलो पटक थियो । त्यतिबेला नेपालको कप्तानी दिपेन्द्रसिंह ऐरीले गरेका थिए। उनले खेलमा ८८ रन बनाउँदा चार विकेट लिएका थिए।

हाल नेपालको मुख्य प्रशिक्षक रहेका मोन्टी देसाइ त्यतिबेला नेपाली टोलीको कन्सल्ट्यान्ट प्रशिक्षक थिए। भारतीय टोलीको प्रशिक्षक राहुद द्रविड थिए। नेपालले भारतलाई हराउन देसाइको भूमिका रहेको भन्दै त्यतिबेला प्रशंसा समेत भएको थियो। यद्यपि त्यतिबेला भारतले दोस्रो रोजाइका खेलाडीलाई एसिया कप खेलाएको भन्दै आलोचना समेत भएको थियो।

भारतका कुनै पनि टोलीलाई हराएको छ वर्षपछि नेपालले आज राष्ट्रिय टोलीसँग खेल्ने अवसर पाएको छ । एसिया कप २०२३ अन्तर्गत नेपालले भारतसँग सोमबार पहिलो पटक खेलेर इतिहास बनाउँदैछ। छ वर्षअघि उमेर समूहको एक अर्काविरुद्ध भिडेका देसाइ र द्रविड यतिबेला दुवै देशको राष्ट्रिय टोलीको प्रशिक्षक रहेका छन्। अहिले दुवै राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा एक आपसमा भिड्दैछन्। यस खेलमा नेपालको प्रदर्शनले नेपाली टोलीको मात्रै उचाइ बढ्ने छैन । जति उचाइ खेलाडीको बढ्ने छ त्यो भन्दा पनि बढी उचाई प्रशिक्षक देसाइको बढ्ने छ । जसले गर्दा आज उनी पनि भरपूर टोलीलाई हौसलाका साथै आफ्नो भएभरको रणनीति प्रयोग गर्ने छन् ।

नेपाल र भारतबीचको खेल श्रीलङ्काको पल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु हुनेछ। दुवै टोलीले समूह चरणको पहिलो पाकिस्तानसँग खेल खेली सकेका छन् । भारत र पाकिस्तान बीचको खेलमा वर्षा बाधक बन्दा एक/एक अङ्क बाँढेका छन् भने नेपाल पराजित भएको छ । आजको खेलमा नेपालले भारतलाई पराजित गर्न सक्यो भने इतिहास रच्दै समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्ने छ । पराजित भएको खण्डमा भने भारत समूह उपविजेताको रूपमा अन्तिम चारमा पुग्ने छ । पाकिस्तान भने समूह विजेता बन्दै तीन अङ्कका साथ अन्तिम चारमा पुगी सकेको छ ।

यदि आजको खेलमा पनि वर्षा बाधक बनेको नेपाललाई स्वतः घाटा लाग्ने छ जसको प्रत्यक्ष फाइदा भारतलाई नै हुने छ । आजको मौसमको पूर्वानुमानअनुसार पल्लेकेले मैदानमा वर्षा हुने सम्भावना रहेको प्रक्षेपण गरिएको छ।

के छ नेपाललाई आजको चुनौती ? 

पहिलो पटक भारतसँग भिड्न लागेको नेपालका लागि अवसरसँगै चुनौती पनि त्यतिकै मात्रामा रहेका छन् । भारतीय टोलीसँग प्रसस्त अनुभव छ । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छन् । उत्कृष्ट लयमा रहेका ब्याट्सम्यान तेज गतिमा बलर छन् जसले गर्दा नेपाली ब्याट्सम्यान र बलर दुवैलाई चुनौती रहेको छ । भारतका लागि निक्कै अनुभव सँगालेका किङ्ग कोहली उपनाम पाएका पूर्व कप्तान विराट कोहली, कप्तान रोहित शर्मा, विकेट किपर ईशान किशन, सन्जु सामसुन, अलराउन्डर हार्दिक पाण्डेय रवीन्द्र जडेजा लगायतका खेलाडी छन् त्यति मात्रै हैन भारतीय टोलीका प्रत्येक खेलाडीसँग विश्वकै सबै भन्दा ठूलो मानिने फ्रेन्चाइज लिग आईपीएल क्रिकेटको अनुभव सबैसँग छ । तेज गतिका बलर मोहम्मद सिराज र मोहम्मद शमीले निकै प्रभाव पार्ने छन् आज नेपाली ब्याट्सम्यान सामु । स्पिन बलिङमा कुलदीप यादवले निकै प्रभाव पार्ने आँकलन गरिन्छ । तर नेपाली ब्याट्सम्यानलाई एउटा फाइदा के छ भने भारतीय टोलीका तेज गतिका बलर जसप्रित बुमराह भने आजको खेलमा प्रयाप्त हुने छैनन् । उनी हिजो नै मुम्बई फर्की सकेका जनाइएको छ । जसले गर्दा नेपाली ब्याट्सम्यानलाई केही राहत भने पक्कै मिल्ने छ ।

भारतलाई प्रभाव पार्न कस्तो रणनीति अपनाउनु पर्ला नेपालले ?

भारतलाई निस्तेज पार्न नेपालले सुरुवातदेखि नै अनुशासित बलिङ गर्न पर्ने देखिन्छ । जसमा सुरुआती दस ओभरसम्म करण केसी र सोमपाल कामीले राम्रो प्रदर्शन गर्यो भने पछि उनीहरूलाई साथ दिन मध्यम गतिको बलिङ लिएर गुलसन झा आउने छन् । जसले केही राहत मिल्ने छ । अनुभवको कमी भएपनि उनी बल राम्रै फ्याँक्छन् । उनको बलमा धेरै गति नभए पनि उनले ब्याट्सम्यानलाई त्यति सहजै खेल्न भने दिने छैनन् । बीचमा स्पिन अट्याक गर्नु पर्नेछ । जसमा त निकै अनुभव सँगालेका पूर्वकप्तान सन्दीप लामिछाने छँदै छन् जसले भारतीय ब्याट्सम्यानलाई खुलेर खेल्न दिने छैनन् । उनलाई अर्को इण्डबाट ललित राजवंशीले साथ दिने छन् । भने बीचमा दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले पनि स्पिन बलिङबाट सुनमा सुगन्ध थप्ने छन् । पाकिस्तानसँग गरेको गल्ती दोहोर्याउने छुट आज कप्तान रोहित कुमार पौडेललाई पनि छैन । उनले उक्त खेलमा मल्ललाई बलिङ गर्न दिएनन् त्यो दिन उनले कुशल भुर्तेललाई बलिङमा ल्याए त्यो उनको गल्ती थियो ।

सम्भवतः आज पनि पाकिस्तानसँग खेलाएको अन्तिम ११ लाई नै प्रशिक्षक देसाइले मैदान उतार्ने छन् । हुन् त त्यो दिन भीम सार्कीले मौका पाएनन् । आज उनलाई मौका पनि दिन सक्छन् । उनले फिल्डिङ र ब्याटिङ दुवै पक्षबाट टोलीलाई राहत दिन सक्छन् तर कसलाई विश्राम दिएर उनलाई मौका दिने भन्ने प्रशिक्षकले नै निर्णय गर्ने छन्। ओपनिङमा कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट सुरुआत दिलायो भने तेस्रो नम्बरमा ब्याटिङ गर्न आउने खेलाडीले त्यसलाई झनै बलियो बनाएर लग्ने छन् । तर, केही समय यता नेपाली टोलीमा को कति खेर ब्याटिङ गर्न आउने भन्ने निश्चित भने छैन । देसाइले विश्वासका भरमा सोमपाललाई पनि ब्याटिङ गर्न र टोलीलाई सम्हाल्न पठाई दिन्छन् । पाकिस्तानसँग पनि त्यही गरेका थिए । जसमा सोमपालले आफ्नो जिम्मेवारी पूरा गरेका थिए । आज पनि परिस्थिति हेरेर खेलाडीलाई ब्याटिङ गर्न मैदान पठाउने छन् ।

Share