कैलाली । अगस्ट ३० अर्थात् भदै १३ देखि पाकिस्तान र श्रीलङ्कामा संयुक्त रुपमा सुरु भएको एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गतका खेल भइरहेका छन् । आज चिरपरिचित प्रतिद्वन्द्वी आईसीसी वरियताको एक नम्बरमा रहेको टोली पाकिस्तान र तेस्रो नम्बरमा रहेको टोली भारत बिच भिडन्त हुँदै छ । खेल श्रीलङ्काको कोलम्बो स्थित आर प्रेमदास अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाली समयअनुसार सवा तीन (३:१५) बजे सुरु हुने समय तालिका रहेको छ ।
दूरी देखि लिएर हर कुराले हेर्ने हो भने पाकिस्तान र भारत एक अर्काका परिपुरक जस्तै हुनु पर्ने हो तर यी दुई देश बीच त्यो सम्बन्ध छैन । राजनीतिक कारणले गर्दा यी दुई देशबीचको सम्बन्धमा पहिले देखि नै फाटो छ । त्यो फाटो राजनीतिमा मात्रै सीमित छैन हर क्षेत्रमा छरपस्ट छ । हुँदा हुँदा खेलमा समेत त्यसको पारदर्शिता झल्किन्छ । त्यसकारण भारत र पाकिस्तान बीचका खेलहरू दर्शकले बडो चाखका रूपमा हेर्ने गर्दछन् । यी दुई टोलीले सिरिज नै खेल्दा पनि विश्वकप खेले जस्तै गरी दर्शकले महत्व दिने गरेका छन् । त्यसकारण आजको खेल पनि दर्शकले उपाधि भिडन्तकै रूपमा लिएका छन् । उसो त यि दुई टोली आफैमा पनि एक बलिया र एसिया कपको उपाधि दाबेदार टोली पनि हुन ।
यी दुई देशका खेलाडी परी आयो भने मैदानमै नै घोचपेच गर्न समेत पछि पर्दैनन् । उसो त पाकिस्तानमा हुने भनिएको एसिया कप भारतले सुरक्षाको अभाव देखाउँदै आफू पाकिस्तान नजाने अडान राखे पछि अन्तिममा आएर श्रीलंका र पाकिस्तानमा गर्ने निर्णय भएपछि भारत एसिया कप खेल्न तयार भएको हो ।
जारी एसिया कपको कुरा गर्ने हो भने पाकिस्तान निकै लयमा रहेको छ । यी दुई देश बीच समूह चरणको खेल सेप्टेम्बर २ अर्थात् भदौ १६ मा भएको थियो तर वर्षाले गर्दा खेलको नतिजा भने आउन सकेन । नतिजा आउन नसकेपछि उक्त खेलमा पाकिस्तानले भारतलाई निकै दबाबमा राखेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८ ओभर पाँच बलमा सबै विकेट गुमाएर दुई सय ६६ रनमै समेटिन पुग्यो । जसमा भारतीय ब्याट्सम्यान माथि पाकिस्तानी बलरले दबदबा कायम राखे ।
भारतका लागि हार्दिक पाण्डेयले ८७ तथा विकेट किपर ईशान किशनले ८२ रनको उत्कृष्ट पारी खेल्दै टोलीलाई सम्मान जनक लक्ष्य दिन भूमिका खेले पनि अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् । भारतको पारीलाई सस्तैमा ध्वस्त गर्न पाकिस्तानका तीब्र गतिका बलरले आफ्नो प्रभुत्व जमाए । जसमा तीब्र गतिका बलर शाहीन शाह अफ्रिदीले चार, हरिस रउफ र नसीम शाहले समान तीन विकेट हात पारे । जसले गर्दा भारतले विशाल लक्ष्य प्रस्तुत गर्न सकेन । तर बीचमै वर्षा बाधक बन्दा पाकिस्तानले ब्याटिङ सुरु गर्न नै पाएन। परिणामस्वरूप खेल बराबरीमा रोकियो र दुवैले एक एक अङ्क बाँड्न बाध्य भएका थिए ।
श्रीलङ्कामा केही समय यता लगातार जस्तो वर्षा भइरहेका कारण आज पनि वर्षा हुने अनुमान गरिएको छ । त्यसकारण खेललाई मध्यनजर गर्दै रिजर्भ डे पनि राखिएको छ । जसले गर्दा आजको खेलमा पनि वर्षा बाधक बने खेल भोलि हुने छ ।
के हो रिजर्भ डे ?
यदि खेल भैरहेको समयमा वर्षा बाधक बन्यो या अन्य कुनै समस्या आयो भने जुन स्थितिमा खेल रोकिएको थियो । सोही अवस्थाबाट खेललाई अर्को दिन सुरु गरी खेलको पूर्ण नतिजा निकाल्नुलाई नै रिजर्भ डे भनिन्छन् ।
यी दुई टोलीले पछिल्लो झण्डै एक वर्षसम्म एकापसमा कुनै पनि खेल खेलेका छैनन् । यिनीहरूको पछिल्लो अन्तिम भेट भने २०२१ अक्टोबर २४ तारिखमा टी २० विश्वकप क्रिकेटमा भएको थियो । उक्त खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको सानदार जित हासिल गरेको थियो । पाकिस्तान आज पनि सोही नतिजा दोहोर्याउने तयारीमा रहेको भने भारत थप रणनीतिक साथ उक्त नतिजालाई उल्ट्याउने तयारीमा रहेको छ । यस प्रतियोगितामा भारत पहिलो खेल खेल्न लागेको हो भने पाकिस्तान दोस्रो खेल खेल्न लागेको हो । उसले उद्घाटन खेलमा नेपाललाई दुई सय ३८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । जस खेलमा कप्तान बाबर आजम एक सय ५१ रनको पारी खेल्दा इफ्तिखर अहमदले अविजित एक सय नौ रनको पारी खेलेका थिए । यता भारतले पनि समूह चरणको खेलमा नेपालमाथि १० विकेटको सानदार जित निकालेको थियो ।
पाकिस्तानले भारतसँग समूह चरणमा उतारेको अन्तिम ११ बाट एक जनालाई बेन्चमा राख्दै अर्कोलाई मौका दिएको छ । जसमा मोहम्मद नवाजलाई विश्राम दिँदै फहिम अशरफलाई मौका दिने भएको छ । नवाजले उक्त खेलमा आठ ओभर बलिङ गर्दै विना विकेट ५५ रन खर्चिएका थिए ।
पाकिस्तानका कप्तान बाबर आजम निकै लयमा छन् । आजको खेलमा पनि कप्तान आजमसँगै फखर जमान, इमाम-अल हक, मोहम्मद रिजवानका साथै अलराउन्डर सलमान अलि अघा, शादब खान, इफ्तिखर अहमद, फहिम अशरफ टोलीको रोजाइमा रहेका छन् । यस्तै तीब्र गतिका बलर शाहिन शाह अफ्रिदी, नसीम शाह र हरिस रउफ रहेका छन् । जसले भारतीय टोलीको ब्याटिङ्गलाई धराशायी बनाउने छन् । स्पिन बलिङबाट अलि अघा र खानले प्रभाव छोड्ने छन् ।
तर यता भारतीय टोलीमा पनि कमजोर खेलाडी भने छैनन् । उसका कप्तान रोहित शर्मा, पूर्व कप्तान विराट कोहली, श्रेयस अय्यर, शुभमन् गिल, केएल राहुल, ईशान किशन, लगायतका ब्याट्सम्यान निकै लयमा रहेका छन् उसले कसलाई अन्तिम ११ मा मौका दिने भन्ने कुरा मात्रै हो । सम्भवतःः आज उसले अय्यारको ठाउँमा राहुललाई मौका दिन सक्छ । राहुल पनि निकै प्रभाव छोड्न सक्ने ब्याट्सम्यान हुन् ।
यस्तै रवीन्द्र जडेजा, हार्दिक पाण्डेय, शार्दूल ठाकुरले अलराउन्डर प्रदर्शन गर्नेछन् । आज पनि टोलीमा तीब्र गतिका बलर जसप्रित बुमराह र मोहम्मद सिराज नै टोलीको पहिलो रोजाइमा रहने छन् । बुमराह नेपालसँगको खेलमा भने काम विशेषले भारत आएका थिए तर आजको खेलमा उनी उपलब्ध हुने छन् । स्पिनमा कुलदीप यादव निकै प्रभाव छोड्न सक्छन् । उनी टोलीमा एक मात्रै स्पिन बलर हुन । जस कारण उनी अन्तिम ११ मा पर्ने निश्चित छ ।
एकदिवसीयमा विगतको नतिजा हेर्दा को बलियो ?
भारत र पाकिस्तानबीच भएका अहिलेसम्मका सबै एकदिवसीय खेलको रेकर्ड हेर्ने हो भने यसमा पनि पाकिस्तानकै पल्ला भारी देखिन्छ । हाल सम्म यी दुई टोलीले एक सय ३२ खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा भारतले ५५ खेलमा जित निकाल्दा पाकिस्तानले ७३ खेल जितेको छ । यी दुई टोलीबीच अन्तिम एकदिवसीय खेलमा सन् २०१९ मा भएको थियो । उक्त खेलमा भारतले ८९ रनको जित निकालेको थियो ।
पछिल्लो अवस्थामा भारतले पाकिस्तानविरुद्ध तीन एकदिवसीय खेलमा लगातार जित हासिल गरेको छ । सन् २०१८ मा भारतले पाकिस्तानलाई पराजित गरेको थियो । त्यो बेला भारतले एक खेल आठ विकेट र अर्को खेल नौ विकेटले आफ्नो पक्षमा पारेको थियो । अन्तिम प्रतिस्पर्धामा ८९ रनको फराकिलो जित निकालेको थियो । तर पछिल्लो समयमा भने पाकिस्तान निकै लयमा रहेको छ । जसले गर्दा आजको खेल पनि निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ ।
तर भारतले हाल सम्म सात पटक एसिया कपको उपाधि उचाली सकेको छ भने पाकिस्तानले दुई पटक मात्रै चुमेको छ ।
सुपर फोरमा भारत र पाकिस्तान सहित श्रीलंका र बंगलादेश पुगेका छन्। जसमा बङ्गलादेशले दुई खेलमा पराजय भोगी सकेको छ भने पाकिस्तान र श्रीलङ्काले एक/एक खेलमा जित हात पारेका छन् । सुपर फोरमा भारत भने आज पहिलो खेल खेल्न लागेको हो । सबैले एक अर्का विरुद्ध खेली सकेपछि शीर्ष स्थानमा रहेका दुई टोली फाइनलका लागि प्रवेश गर्ने छन् । बंगलादेश भने दुई खेलमा पराजय भोगेसँगै फाइनलको होडबाट बाहिरी सकेको छ । उसले अन्तिम खेल भारतसँग खेल्ने छ ।













