कैलाली । बुधबार देखि पाकिस्तान र श्रीलङ्कामा संयुक्त रुपमा सुरु भएको एसिया कप क्रिकेटको तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी आईसीसी वरियताको एक नम्बरमा रहेको टोली पाकिस्तान र तेस्रो नम्बरमा रहेको भारत बिच भिडन्त हुँदै छ । खेल श्रीलङ्काको बालागोला स्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाली समयअनुसार सवा तीन (३:१५) बजे सुरु हुने समय तालिका रहेको छ ।
उसो त भारत र पाकिस्तान बीचका खेल दर्शकले बढो चाखका रूपमा हेर्ने गर्दछन् । यी दुई टोलीले सिरिज नै खेल्दा पनि विश्वकप खेले जस्तै गरी दर्शकले महत्व दिने गरेका छन् । त्यसकारण आजको खेल पनि दर्शकले उपाधि भिडन्तकै रूपमा लिएका छन् । उसो त यि दुई टोली एसिया कपको उपाधि दाबेदार टोली पनि हुन ।
राजनीतिक घटनाले यी दुई देशको सम्बन्ध राम्रो छैन । सोही अवस्था क्रिकेटमा पनि देखिने गरेको छ । मैदानमै खेलाडी खेलाडी बीच नै घोचपेच गर्न समेत पछि पर्दैनन् । उसो त पाकिस्तानमा हुने भनिएको एसिया कप भारतले सुरक्षाको अवस्था देखाउँदै आफू पाकिस्तान नजाने अडान राखे पछि अन्तिममा आएर श्रीलंका र पाकिस्तानमा गर्ने निर्णय भएपछि भारत एसिया कप खेल्न तयार भएको हो ।
यी दुई टोलीले पछिल्लो झण्डै एक वर्षसम्म एकापसमा कुनै पनि खेल खेलेका छैनन् । यिनीहरूको पछिल्लो अन्तिम भेट भने २०२१ अक्टोबर २४ तारिखमा टी २० विश्वकप क्रिकेटमा भएको थियो । उक्त खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको सानदार जित हासिल गरेको थियो । पाकिस्तान आज पनि सोही नतिजा दोहोर्याउने तयारीमा रहेको भने भारत थप रणनीतिक साथ उक्त नतिजालाई उल्ट्याउने तयारीमा रहेको छ । यस प्रतियोगितामा भारत पहिलो खेल खेल्न लागेको हो भने पाकिस्तान दोस्रो खेल खेल्न लागेको हो । उसले उद्घाटन खेलमा नेपाललाई दुई सय ३८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । जस खेलमा कप्तान बाबर आजम एक सय ५१ रनको पारी खेल्दा इफ्तिखर अहमदले अविजित एक सय नौ रनको पारी खेलेका थिए ।
उसो त पछिल्लो समय पाकिस्तान निकै बलियो मानिँदै आएको छ । तर भारत पनि कमजोर भने छँदै छैन । ऊ पनि उपाधि दाबेदारको एउटा घटक हो । पाकिस्तानी टोलीले नेपालसँग नै खेलाएको अन्तिम ११ लाई नै निरन्तरता दिने बताएको छ । जसमा कप्तान बाबर आजम, फखर जमान, इमाम-अल हक, मोहम्मद रिजवान, मोहम्मद नवाज, जस्ता ब्याट्सम्यान रहेका छन् भने, शादब खान, सलमान अलि अघा, इफ्तिखर अहमद, जस्ता अलराउन्डर अन्तिममा ११ मा समावेश गर्दा शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रउफ जस्ता तीब्र गतिका बलरलाई स्थान दिएको छ । जसले भारतलाई निरिह बनाउन सक्छ । कप्तान आजम आफै पनि निकै लयमा रहेका छन् ।
तर यता भारतीय टोलीमा पनि कमजोर खेलाडी भने छैनन् । उसका पनि सूर्य कुमार यादव, कप्तान रोहित शर्मा, पूर्व कप्तान विराट कोहली, श्रेयस अय्यर, शुभमन् गिल, तिलक बर्मा, ईशान किशन, सन्जु सामसुन लगायतका ब्याट्सम्यान निकै लयमा रहेका छन् उसले कसलाई अन्तिम ११ मा मौका दिने भन्ने कुरा मात्रै हो । तर सामसुन र किशन मध्ये एक जना भने टोलीमा मौका पाउने छन् किन भने यी दुवै विकेट किपर हुन । त्यसकारण एउटाले मौका पाउने छन् । यस्तै रवीन्द्र जडेजा, हार्दिक पाण्डेय, अक्षर पटेल जस्ता अलराउन्डर टोलीमा रहेका छन् । यस्तै जसप्रित बमराह, मोहम्मद शमी, मोहम्मद सिराज, प्रसिद्ध किशन, शार्दुल ठाकुर र कुलदीप यादव जस्ता बलर रहेका छन् । सम्भवतःः आज बुमराह, शमी मौका पाउने छन् । यी दुवै तीब्र गतिका बलर हुन् । उनीहरूलाई उताबाट पाण्डेयले साथ दिने छन् उनी पनि मध्यम गतिका बलर हुन् । यस्तै आजको खेलमा कुलदीप यादव पनि सकेसम्म अन्तिम ११ मा मौका पाउने छन् । उनी टोलीमा एक मात्रै स्पिन बलर हुन् । उनलाई जडेजाले साथ दिने छन् ।
एकदिवसीयमा विगतको नतिजा हेर्दा को बलियो ?
बुधबार नेपालमाथि दुई सय ३८ रनको जित दर्ता गर्दै पाकिस्तानले एसिया कपमा शानदार सुरुवात गरिसकेको छ । उसले आज दोस्रो खेलमा पुरानै प्रतिद्वन्द्वी भारतसँग खेल्न लागेको हो । भारत र पाकिस्तानबीच भएका अहिलेसम्मका सबै एकदिवसीय खेलको रेकर्ड हेर्ने हो भने यसमा पनि पाकिस्तानकै पल्ला भारी देखिन्छ ।
हाल सम्म यी दुई टोलीले एक सय ३२ खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा भारतले ५५ खेलमा जित निकाल्दा पाकिस्तानले ७३ खेल जितेको छ । यी दुई टोलीबीच अन्तिम एकदिवसीय खेलमा सन् २०१९ मा भएको थियो । उक्त खेलमा भारतले ८९ रनको जित निकालेको थियो ।
पछिल्लो अवस्थामा भारतले पाकिस्तानविरुद्ध तीन एकदिवसीय खेलमा लगातार जित हासिल गरेको छ । सन् २०१८ मा भारतले पाकिस्तानलाई पराजित गरेको थियो । त्यो बेला भारतले एक खेल आठ विकेट र अर्को खेल नौ विकेटले आफ्नो पक्षमा पारेको थियो । अन्तिम प्रतिस्पर्धामा ८९ रनको फराकिलो जित निकालेको थियो । तर पछिल्लो समयमा भने पाकिस्तान निकै लयमा रहेको छ । जसले गर्दा आजको खेल पनि निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ ।
तर भारतले हाल सम्म सात पटक एसिया कपको उपाधि उचाली सकेको छ भने पाकिस्तानले दुई पटक मात्रै चुमेको छ ।
आजको खेलले नेपाललाई के असर गर्छ ?
पहिलो खेलमा पराजय भोगेको नेपाल अङ्क तालिकाको पुछारमा रहेको छ । आजको खेलमा भारतलाई पाकिस्तानले हराएमा नेपालको अन्तिम चारमा पुग्ने सम्भावना जीवितै रहने छ । आज पाकिस्तानले जित निकालेको खण्डमा सोमबार हुने भारत र नेपालको खेलमा नेपालले जित निकालेको खण्डमा नेपाल अन्तिम चारमा पुग्ने आधार रहेको छ । आज भारतले जित निकालेको खण्डमा सोमबारको खेलमा नेपाल विजयी भएमा भने समूह ए बाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो नेट रन रेटका आधारमा हुने छ ।













