कैलाली । शुक्रबार भएको नेपाल क्रिकेट संघ (क्यान) बागमती प्रदेशको अध्यक्षमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का फराकिलो मतान्तरले निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी उमेश पियालाई नौ मतले पराजित गर्दै खड्का निर्वाचित भएका हुन् । साथै खड्काको प्यानल नै विजयी भएको छ ।
निर्वाचित खड्काले खसेको कूल ३७ मत मध्ये २३ मत पाउँदा पराजित पियाले १४ मत मात्रै प्राप्त गर्न सके ।

छ जिल्ला चितवन, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर मध्ये चितवन र नुवाकोटलाई छोडेर चार जिल्ला र वर्तमान कार्यसमितिका सात सदस्यले पारसलाई अध्यक्ष बनाउने सर्वसम्मत सहित यस अघि नै पत्रकार सम्मेलन गरिसकेकाले उनको दाबेदारी बलियो मानिएको थियो ।
खड्काले भदौ ८ गते पत्रकार सम्मेलनमा चितवन र नुवाकोटलाई बाहिर राख्दै बाँकी चार जिल्लाले बाँकी पदमा भागबन्डा गर्ने सहमति भएको जनाएका थिए । आज निर्वाचित भई सकेपछि खड्काले सञ्चारकर्मीहरूसँग कुरा गर्दै चुनावमा हार जित र पक्ष विपक्ष हुन्छ तर अब निर्वाचित भइसकेपछि त्यस्तो हुँदैन भन्दै आफूले सबैलाई समेटेर अगाडि बढ्ने बताए । नेपाली क्रिकेटलाई उचाइमा पुर्याउन एउटै व्यक्तिले सम्भव नरहेको र सबैले काँधमा काँध मिलाएर जानु पर्ने खड्काको भनाई रहेको छ ।
खड्का सन् २००२ देखि २०२१ सम्म नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्त्वपूर्ण सदस्य समेत रहेका थिए । उनले २००९ देखि २०१९ सम्म झण्डै एक दशक राष्ट्रिय टोलीको नेतृत्व गरेको थिए । उनकै कप्तानीमा नेपालले उल्लेख्य मात्रामा सफलता हासिल गरेको थियो । सन् २०१४ को टी २० विश्वकप समेत उनकै कप्तानीमा नेपालले खेलेको थियो भने सन् २०१८ मा उनी नेतृत्वमा रहेकै बेला नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो ।
क्यान निलम्बनमा परेका बेला समेत उनले एक्लैले टोलीको अभिभावकत्व समेत निभाएका कारण उनलाई नेपाली खेल प्रेमीले क्रिकेटको एक सफल जिम्मेवार व्यक्ति मान्दछन् । उनी क्यानको नेतृत्वमा आउनु पर्ने आम खेल प्रेमीको आवाज समेत रहेको थियो ।
टोलीको नेतृत्व गरिरहेका खड्काले राष्ट्रिय टोलीको कप्तानबाट भने १५ अक्टोबर २०१९ मा राजीनामा दिएका थिए यस्तै २०२१ अगस्ट ३ का दिन अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए। सोही दिन उनले अबको यात्रा व्यवस्थापन तिर रहेको पनि बताएका थिए तर उनी दुई वर्ष मौन रहे । हाल आएर बागमती प्रदेशको क्यानको अध्यक्षमा निर्वाचित भएका छन् ।
उनी यसरी उनी नेतृत्वमा आई रहँदा आम खेल प्रेमीले थप क्रिकेटको उचाइ बढ्ने आँकलन समेत गरेका छन् । आफै खेलाडी भएर भोगेका समस्या उनलाई राम्रैसँग थाहा भएको र राष्ट्रिय टोलीका खेलाडीले कतिसम्मको समस्या भोग्नु परिरहेको छ भन्ने कुरा उनलाई सबै जानकारी भएका कारण पनि यसरी बुझेको मान्छे नेतृत्वमा आउनुले केही समस्याहरू समाधान हुनेमा खेलप्रेमी आशावादी रहेका छन् ।
साथै खड्का क्यान बागमतीको अध्यक्षमा निर्वाचित भएकोमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले उनलाई बधाई दिँदै लेखेका छन्, “बागमती क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुनु भएकोमा पूर्वकप्तान पारस खड्कालाई धेरै बधाई तथा सफलताको शुभकामना। तपाईँको यो नयाँ इनिङ्सले नेपाली क्रिकेटलाई नयाँ उचाइ र हौसला दिनेछ भन्ने हामी सबैको अपेक्षा छ ।” साथै मल्लले पुनः लेखेका छन्, “नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन तयार रहेको एक सच्चा महापुरुषको रूपमा क्रिकेट उत्साही र नेपाली फ्यानहरूका लागि रोमाञ्चक क्षण हो । यो यात्रामा असीमित सफलता र उज्ज्वलताको कामना गर्दछु, पारस!”

उसो त खड्का र मल्ल निकै नजिकका हितैषी मित्र समेत मानिन्छन् । खड्का टोलीको कप्तानी गरिरहेका बेला मल्ल उपकप्तान थिए । उनले टोलीको नेतृत्वबाट राजीनामा दिँदै उनै मल्ल कप्तान बनेका थिए । तर मल्लले पनि हाल राष्ट्रिय टोलीबाट सन्यास लिई सकेका छन् ।













