बहराइनमाथि नेपालको सानदार कीर्तिमानी जित

तस्बिर : आईसीसी

कैलाली । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले बहराइनमाथि १० विकेटको सानदार कृतिमानी जित निकालेको छ। शुक्रवार मलेसियाको राजधानी क्वाललम्पुरस्थित सेलान्गो टर्फ क्लबमा सम्पन्न आईसीसी महिला टी २० विश्वकप एसिया क्षेत्र विश्वकप अन्तर्गतको खेलमा बहराइनले दिएको ३२ रनको झिनो लक्ष्य नेपालले दुई ओभर पाँच बलमा बिना विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको बहराइनले कमजोर ब्याटिङ गर्दै १५ ओभर चार बलमा सबै विकेट गुमाएर जम्मा ३१ रन मात्रै बनाउन सक्यो ।

उसका लागि कप्तान दीपिका रसन्गिकाले ११ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन्। बहराइनका छ जना ब्याटसम्यान त शून्य रनमै पेभेलियन फर्किएका थिए।

बहराइनको पारीलाई सस्तैमा ध्वस्त गर्न बलिङतर्फ इन्दु बर्माले नेपाललाई उत्कृष्ट सुरुवात दलाइन । उनले सर्वाधिक तीन विकेट हात पार्दा खुशी डङ्गोलले दुई तथा कविता कुँवर, पुजा महतो र कप्तान रुबिना क्षेत्रीले समान एक विकेट लिए ।

जबाफी ब्याटिङमा उत्रिएको नेपाललाई जित दिलाउन ओपनरद्वय कविता कुँवर र सीता रानामगरले दुई ओभर पाँच बलमै उक्त लक्ष्य पूरा गरिन् । कुँवरले अविजित १७ रन बनाउँदा मगर दुई रनमा अविजित रहिन्।

विश्वकप छनोटमा नेपालको यो लगातार दोस्रो जित हो। यसअघिको खेलमा नेपालले बिहीबार मलेसियामाथि पाँच रनको जित निकालेको थियो।

नेपालले अब सोमबार कतारसँग र बुधबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ। यो जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना समेत बलियो बनेर गएको छ। यस प्रतियोगिताको फाइनल पुग्‍ने दुई टोली विश्वकपमा छनोट हुनेछन्।

Share