कैलाली । काठमाडौं महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले नेपालले तीन वर्ष अगाडि सार्वजनिक गरेको चुच्चे नक्सा चीनले सोध्दै नसोधी हटाएर बुच्चे नक्सा राखेको भन्दै चीनको पाँच दिने भ्रमण रद्द गरेका छन् । चीनले भर्खरै मात्र सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सालाई हटाएर बुच्चे नक्सा राखेको राखेको थियो । सोही विषयमा आपत्ति जनाउँदै भ्रमण रद्द गरेको शाहले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
चीनको निमन्त्रणामा प्रमुख शाह आज देखि पाँच दिने भ्रमणमा चीन जाँदै थिए । तर चीनले नेपाली भूभागलाई नेपाललाई नै नसोधी भारतको देखाउनु नेपालीको संवेदनशीलतामाथि चालेको गलत कदम मान्दै भन्दै नैतिकताको आधारमा चीन नजाने जानकारी दिएका हुन् ।
नेपालले २०७७ साल जेठ ७ गते कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नेपालको नक्सा सार्वजनिक गरेको थियो । तर केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई नै कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।
‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु,’ प्रमुख शाहले लेखेका छन् ।














