एसिया कपको पूर्वसन्ध्या : नेपालसँग खेल्नु अघि उत्कृष्ट लयमा पाकिस्तान

तस्बिर : पाकिस्तान क्रिकेट बोर्ड

कैलाली । यही साताको बुधबार देखि पाकिस्तानमा हुन गई रहेको एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुँदै छ । उक्त खेलमा नेपालले आफू भन्दा निकै बलियो रहेको घरेलु टोलीको सामना गर्दै छ । सम्भवतःः नेपालले पहिलो पटक यो अवसर पाएको हो । जुन भारत र पाकिस्तान जस्ता विश्वका उपाधि दाबेदार मानिने टोलीसँग एसिया कपमा प्रतिस्पर्धा गर्न पाउनु नेपालको ठूलो उपलब्धि हो ।

यस प्रतियोगितामा नेपालले जित्ने वा हार्नेसँग कुनै फरक पर्ने छैन फरक त यति कुरामा मात्र पर्ने छ कि बलिया राष्ट्रसँग आफ्नो क्षमता प्रदर्शन गर्दै भावी दिनमा टोलीलाई मजबुत बनाउने । केही अनुभव केही सिकाइले नेपाली टोली बिस्तारै उचाइको शिखरमा पुग्न एक इँटा एसिया कपले थपिदिने छ भन्ने कुरामा कुनै दुई मत छैन् ।

अब कुरा आउँछ कि त्यसो भए सहभागी मात्रै भएर सिकाइ हुन्छ त? भन्ने सहभागिता जनाउन पाउनु ठूलो कुरा हो । त्यसमाथि पनि विश्वकपको उपाधि जितिसकेका भारत र पाकिस्तानसँग खेल्न पाउनु नेपालका लागि ठूलो उपलब्धि हो । उनीहरूसँग अनुभव छ । सीप छ हर कुरा छ । खेल्नु र बाहिरबाट हेर्नुमा आकाश पातालको फरक छ । यसकारण नेपालका लागि यो प्रतियोगिता अवसरका रूपमा हेरिएको छ र साथै चुनौती पनि ।

नेपाललाई चुनौती के ? 

एसिया कपको उद्घाटन हुँदै छ बुधबार सोही दिन नेपाल भिड्दै छ पाकिस्तानसँग । पाकिस्तानले हालसम्म एक पटक एकदिवसीय विश्वकप र एक पटक टी २० विश्वकपको उपाधि उचाली सकेको छ । २०२२ को टी २० विश्वकपमा पनि उ उपाधि भिडन्तमा इंग्ल्याण्डसँग पराजित हुँदै उपाधि उचाल्न वञ्चित भएको थियो । झन पछिल्लो समय त उ निकै बलियो बन्दै गइरहेको छ । शनिबार मात्रै सम्पन्न अफगानिस्तानसँगको तीन खेलको एक दिवसीय शृंखला क्लिन स्विप गर्दै उ आईसीसीको एकदिवसीय वरियताको शीर्ष स्थानमा उक्लिएको छ ।

पछिल्लो समय पाकिस्तानका कप्तान बाबर आजम, विकेट किपर मोहम्मद रिजवान, इमाम-उल-हक र फखर जमान जस्ता ब्याट्सम्यान निकै लयमा रहेका छन्। जसले तुलनात्मक रूपमा अनुभव निकै कम भएका नेपाली बलरलाई बलिङ गर्न समेत चुनौती दिने छन् । बलरलाई कस्तो बल फ्याँक्ने भन्ने नै अन्योलमा पारी दिन सक्ने उनीहरूमा क्षमता छ ।

त्यति मात्रै हैन यता बलिङमा पनि शाहीन शाह अफ्रिदी, फहिम अशरफ, मोहम्मद नवाज र शादव खान जस्ता बलर निकै लयमा रहेका छन् । जसले नेपाली टोलीमा रहेका तुलनात्मक रूपमा अनुभवको कमी भएका युवा ब्याट्सम्यानको ब्याटिङ धराशायी पारिदिन सक्ने क्षमता उनीहरू राख्दछन् । त्यसकारण नेपाललाई चुनौती पनि रहेको छ । ती आफूभन्दा निकै अनुभव रहेका बलरसँग ब्याटिङ गर्दा र अनुभवी ब्याट्सम्यानसँग बलिङ गर्दा सिकाइ पनि नेपाली खेलाडीलाई उत्तिकै मात्रामा हुने छ ।

पाकिस्तानले सन् १९९२ मा एकदिवसीय विश्वकप क्रिकेटको उपाधि उचाली सकेको छ । यस्तै उसले २००९ मा टी २० विश्वकप क्रिकेटको पनि उपाधि उचाली सकेको छ ।

एसिया कपको उद्घाटनमा वरियताको एक नम्बरमा रहेको टोलीसँग वरियताको १५ नम्बरमा रहेको नेपाल भिड्न लागेको हो ।

नेपालले पाकिस्तानसँग मात्रै हैन यस्तै अर्को खेलमा भारतको पनि सामना गर्ने छ । जसमा विराट कोहली, रोहित शर्मा, सूर्य कुमार यादव, हार्दिक पाण्डेय, जसप्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज जस्ता खेलाडीसँग खेल्ने अवसर र चुनौती रहेको छ ।

Share