चार देश सम्मिलित महिला टी २० सिरिजको उपाधि नेपाललाई

तस्बिर : सामाजिक सञ्जाल

कैलाली । मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न चार देश सम्मिलित महिला टी २० सिरिजको उपाधि नेपाली महिला टोलीले उचालेको छ । शनिबार भएको अन्तिम खेलमा नेपालले हङकङलाई १३ रनले पाखा लगाउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा गरिएको थियो ।

क्वालालम्पुरको बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै मलेसियाले ब्याटिङको निम्तो पाएको थियो । उसले निर्धारित २० ओरमा छ विकेट गुमाउँदै एक सय एक रन बनायो ।

एक सय दुई रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले पाँच ओभर तीन बल खेल्दा वर्षा भएपछि खेल रोकियो । त्यतिबेला नेपालले एक विकेटको क्षतिमा ३७ रन बनाएको थियो । जसमा इन्दु बर्मा १९ तथा सीता राना मगर १३ रनका साथ क्रिजमा खेल्दै थिइन् । त्यसअघि काजल श्रेष्ठ भने शून्य रनमा पेभिलियन फर्किएकी थिइन् । वर्षा अत्यधिक भएपछि खेल पुनः सुरु हुन नसकेपछि नेपाललाई विजयी घोषित गरिएको हो ।

यसअघि हङकङका लागि ब्याटिङ गर्दै याशमिन दासवानीले ११, का यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन् ।

बलिङतर्फ नेपालका लागि खुशी डङ्गोलले तीन तथा अश्मिना कर्माचार्य र कविता जोशीले एक/एक विकेट लिइन् । फाइनल खेलको प्लेयर अफ दी म्याच नेपालकी खुशी डङ्गोल भइन् ।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई छ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो । समूह चरणको अन्तिम खेलमा नेपाल मलेसियासँग छ विकेटले पराजित भएको थियो ।

पहिलो खेलमा नेपालसँग पराजित भएको हङकङले दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले पराजित गरेको थियो । महिला टी २० सिरिजमा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी भएका थिए । यही अगस्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी २० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरूप नेपालले उक्त सिरिज खेलेको हो ।

Share