क्यान बागमतीको अध्यक्षमा पूर्व कप्तान खड्काको उम्मेद्वारी

तस्बिर : खड्काको फेसबुकबाट

कैलाली । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको निर्वाचनमा बागमती प्रदेशको अध्यक्षका लागि भिड्ने भएका छन्। उनले आज पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् भने सामाजिक सञ्जालबाट पनि आफू बागमती प्रदेशको अध्यक्ष पदमा निर्वाचन लड्ने भएको भन्दै अध्यक्षमा उम्मेद्वारी घोषणा गरेको कुरा जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल मार्फत पनि उम्मेद्बारी घोषणा

खड्काले आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बागमतीका चार काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुरको समर्थनसहित बागमती प्रदेश अध्यक्षमा उठ्न लागेको घोषणा गरेका हुन । उनी काठमाडौं जिल्ला क्रिकेट संघका कार्य समिति सदस्य समेत हुन् ।

प्रदेश संरचनालाई कसरी बलियो बनाउने भन्ने सन्दर्भमा छलफल गर्दा अहिलेका महत्वपूर्ण व्यक्ति खड्का भएको र उनमा लिडरसिप क्षमता पनि भएकाले उनलाई प्रदेश अध्यक्षमा अघि बढाउन आफूहरू सहमति भएको भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष मनिषराज पाण्डेले पत्रकार सम्मेलनमा बताएका थिए ।

उनीहरूबीचको सहमति अनुसार उपाध्यक्षमा मकवानपुर, सचिवमा ललितपुर र कोषाध्यक्षमा भक्तपुर जिल्ला क्रिकेट संघले तोकेका व्यक्तिलाई सहयोग गर्ने पनि सम्मेलन जानकारी दिएको थियो ।

काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले पारसलाई अध्यक्षको रुपमा अघि सारेको बताउँदै बागमती प्रदेशका बाँकी जिल्ललाई पनि पारसलाई नै समर्थन गर्न आग्रह समेत गरे । बागमती प्रदेशमा चितवन र नुवाकोटमा पनि क्रिकेट संघ रहेको छ ।

सन् २००२ देखि क्रिकेट यात्राको सुरुआत गरेका थिए । खड्काले यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका उनीले सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरे । खड्काले राष्ट्रिय टोलीको कप्तानबाट १५ अक्टोबर २०१९ मा राजीनामा दिएका थिए । उनकै कप्तानीमा नेपाली क्रिकेटको उल्लेख्य प्रगति भएको थियो ।

नेपाली क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ क्यान आईसीसीको निलम्बनमा पर्दा उनै पारसले टोलीको जिम्मेवारी सँगै क्रिकेटको अभिभावकत्वको भूमिका समेत निभाएका थिए । उनले प्रशिक्षक छनोट देखि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने जस्तो महत्वपूर्ण जिम्मेवारी समेत आफैले सम्हालेका थिए ।

त्यसकारण खड्का क्यानकै नेतृत्वमा आउनु पर्ने आम खेलप्रेमीको अपेक्षा भए पनि उनी हाल बागमती प्रदेशको अध्यक्षमा भिड्ने भन्दै आज उम्मेद्वारी घोषणा गरेका हुन् ।

उनले २०२१ अगस्ट ३ का दिन अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्दै अबको यात्रा व्यवस्थापन तिर रहेको पनि बताएका उनी दुई वर्ष मौन रहे । तर हाल आएर उनलाई क्यानकै नेतृत्वमा हेर्न चाहने खेलप्रेमी धेरै छन् तथापि पनि उनले भने यसपटक बागमती प्रदेशको अध्यक्ष पदमा निर्वाचन भिड्ने बताउँदै उम्मेद्वारी घोषणा गरेका हुन् ।