त्रिशूलीमा बस् खस्दा आठ जनाको मृत्यु, १७ जनाको जीवितै उद्धार

तस्बिर : नेपाल प्रहरी

कैलाली । बुधबार बिहान काठमाडौंबाट पर्वत हुँदै म्याग्दी बेनी तर्फ गइरहेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने १७ जनाको जीवितै उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

आज बिहान ११ बजेर १० मिनेटमा धादिङको गजुरी गाउँपालिका वडा न.०२ चालिसे स्थित पृथ्वी लोकमार्गमा काठमाडौंबाट पर्वत हुँदै म्याग्दी बेनी तर्फ गइरहेको म्याग्दी कोरला यातायात प्रा.लि को प्रदेश ३-०१-००५ ख ९९५२ नं. बस अनियन्त्रित भई करिब ४० मिटर तल त्रिशूली नदिमा खसेको प्रहरीले जनाएको छ ।

उक्त बस् त्रिशूलीमा खस्दा आठ जनाको मृत्यु भएको छ । जसमध्ये चार जनाको सनाखत समेत भइसकेको प्रहरीले जानकारी दिएको छ । पहिचान खुल्नेमा प्रहरीका अनुसार म्याग्दीको रघुगंगा-३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी-१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी-८ का २४/२५ वर्षीय सविन रम्तेल र कास्कीको फुलबारी-११ का २५ वर्षीय सुमन थापा रहेका छन् । ज्यान गुमाउनेमा दुई जना महिला र छ जना पुरुष रहेका छन् । बाँकी चार जनाको पहिचान खुल्न बाँकी रहेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका साथै अन्य सुरक्षा निकायका सदस्यहरू र स्थानीय नागरिकहरूको सहयोगमा दुर्घटनामा परेका १७ जनाको जीवित उद्धार गरेको जनाएको छ ।

जीवित उद्धार गरिएका १७ मध्ये १४ जनालाई थप उपचारको लागि काठमाडौं तर्फ लागेका , एक जना उपचार पश्चात् डिस्चार्ज भइसकेका र एक जनाको मलेखुको टीचिङ्ग अस्पतालमा उपचार भइरहेको तथा एक जना सकुसल रहेको पनि प्रहरीले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

उक्त बसमा २५ जना सवार रहेको रहेका थिए । दुर्घटना स्थलमा अहिले पनि प्रहरी टोली उद्धारमा सक्रिय रहेको छ ।

Share