कैलाली । कहिले काँही मानिसको जीवनमा कयौं यस्ता घटना घटी दिन्छन् जसले विश्व जितेर पाएको खुसीलाई समेत क्षण भरमै तहसनहस गरी दिन्छ । ती नसोचेका घटनाहरूले अविस्मरणीय चोट दिएर जान्छन्। कयौं पीडा र चोटलाई त भुलेर खुसीमा पनि बदल्न सकिन्छ तर कयौं यस्ता घटना र पीडा हुन्छन् जो चाहेर पनि खुसीमा परिणत गर्न सकिन्न । एक पटक सोच्नुहोस् त तपाईंले विश्वमा कुनै ठुलै अवार्ड पाएर खुसियालीको मञ्चमा नाच्दै गरेको बेला तपाईंको घरमा कसैको निधनको खबर तपाईंको कानमा पुग्यो भने ….के हुन्छ त्यति खेर ?
हो यस्तै भयो आइतबार । अगस्ट २० अर्थात् आइतबार अष्ट्रेलियाको सिड्नीमा फिफा महिला विश्वकप फुटबल २०२३ को अन्तिम उपाधि भिडन्त हुँदै थियो । उपाधि भिडन्तमा दुई प्रतिद्वन्दी थिए स्पेन र इंग्ल्याण्ड । खेल सुरु भयो विश्वकप हो रोमाञ्चक त हुने नै भयो त्यसमाथि पनि उपाधि भिडन्त । त्यही पनि विश्वको विजेता बन्ने धुनमा थिए दुवै देश ।
खेलको १६ औं मिनेटमा इङ्ल्यान्डले टोलीलाई अग्रता दिलाउन सुनौलो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । इंग्ल्याण्डकी हेल्पको प्रहार क्रसबारमा लाग्यो। त्यसपछि खेलको २९ औं मिनेटमा स्पेनकी कप्तान ओल्गा कार्मोनाले पहिलो गोल गर्दै टोलीलाई १-० गोलले अग्रता दिलाइन्। पहिलो हाफ १-० को स्थितिमा सकियो ।
दोस्रो हाफ पनि रोमाञ्चक बन्यो तर गोल भने हुन सकेन। जसको प्रत्यक्ष फाइदा स्पेनलाई हुने नै भयो तर खेलको ६४ औं मिनेटमा स्पेनले अग्रता दोब्बर पार्ने ठूलो अवसर प्राप्त गरे पनि उक्त अवसर सदुपयोग गर्न भने सकेन। इंग्ल्यान्डकी वाल्सको हातले बल छोएपछि स्पेनलाई पेनाल्टी दिइएको थियो। स्पेनका लागि पेनाल्टी हानेकी जेनिफर हर्मोसोको प्रहारलाई इंग्ल्यान्डकी गोलकिपर मेरी इर्प्सले विफल पारिदिएकी थिइन्। फलतःः खेलको नतिजा १-० मा नै टुङ्गियो र स्पेन महिला विश्वकपको उपाधि जित्ने पाँचौ टोली समेत बन्न सफल भयो।
सिड्नीमा भएको फाइनल खेलको जब अन्तिम सीठ्ठी बज्यो, स्पेनिस टोलीका खेलाडी खुसीले मैदानमा उफ्रिए, भावुक भए अनि एकअर्कालाई अँगालोमा बाँधे। यसरी उपाधि जितेर उत्सव मनाई रहँदा स्पेनकी कप्तान ओल्गा कार्मोनालाई भने ठूलो बज्रपात पर्यो । जब उनी खुसियाली मनाई रहेकी थिइन् तब उनलाई एक्कासि उनका बुबाको निधनको खबर प्राप्त भयो ।
त्यसपछि स्पेनलाई च्याम्पियन बनाएकी कप्तान कार्मोनाले भने खुलेर खुसियाली मनाउन सकिनन्। स्पेनिस क्लब रियल म्याड्रिडकी लेफ्ट-ब्याकका बुबा लामो समयदेखि बिरामी थिए। कार्मोनाको बुबाको फाइनल हुनु दुई दिनअघि शुक्रबार निधन भएको कुरा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। स्पेनिस फुटबल महासङ्घले पनि कप्तान कार्मोनाको बुबाको निधनप्रति दुःख व्यक्त गर्दै फाइनलपछि मात्र कार्मोनाले उक्त खबर थाहा पाएको पुष्टि गरेको छ।
रोयटर्सले स्पेनिस मिडिया रेलेभोका अनुसार कार्मोनाको परिवार र साथीहरूले उनलाई आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण खेलमा ध्यान केन्द्रित गर्न सकोस् भनेर नभन्ने निर्णय गरेको र उनकी आमा र भाइहरू विश्वकपको समूह चरणको दौडान न्युजिल्याण्डमा पुगेका र त्यसपछि स्पेन फर्किएको कुरा समेत उल्लेख गरेको छ । आमा र भाइहरू भने पुनः उनलाई समर्थन गर्न शनिबार अष्ट्रेलिया पुगेका पनि रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
स्पेनका स्थानीय सञ्चार माध्यमले उनको ध्यान खेल तर्फ केन्द्रित गर्नकै लागि उनलाई उनका बुबाको निधन भएको कुरा जानकारी नदिएको लेखेका पनि रोयटर्सले जनाएको छ ।

खेलपछि कप्तान ओल्गा कार्मोनाले भने सामाजिक सञ्जालमा विश्वकपको मेडललाई चुम्बन गरेको तस्विर राख्दै लेखेकी छन्, ‘मलाई थाहा छ, तपाईंले आज राति मलाई हेरिरहनुभएको छ र तपाईं मप्रति गर्व गरिरहनु भएको छ। रेस्ट इन पिस ड्याड ।’
कार्मोनाले विश्वकपमा स्पेनका सात खेलमध्ये पाँच खेलमा पहिलो रोजाइमा खेलेकी थिइन्। उनले विश्वकपमा तीन गोल गर्न सफल भइन् भने सेमिफाइनलमा उनकै निर्णायक गोलमा स्पेनले स्विडेनलाई हराएको थियो। विश्वकपका खेलहरू न्युजिल्याण्ड र अष्ट्रेलियामा भएको थियो ।













