फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनलाई

तस्बिर : एजेन्सी

कैलाली । आइतबार अष्ट्रेलियाको सिड्नीमा भएको फिफा महिला विश्वकप फुटबल २०२३ को अन्तिम (फाइनल) खेलमा इंग्ल्याण्डलाई १-० गोल अन्तरले पाखा लगाउँदै स्पेन च्याम्पियन बनेको छ । ओल्गा कार्मोनाको निर्णायक गोलमा स्पेनले फिफा महिला विश्वकप २०२३ को उपाधि जित्दै इतिहास रच्न रच्न सफल भएको हो ।

खेलको २९ मिनेटमा कार्मोनाले उत्कृष्ट फिनिसिङ गर्दा स्पेनले अग्रता लिएको थियो। कार्मोनाले यसअघि सेमिफाइनलमा पनि स्विडेनविरुद्ध निर्णायक गोल गर्दा स्पेन फाइनल पुगेको थियो।

त्यसअघि खेलको १६ मिनेटमा इंग्ल्यान्डले अग्रता लिने अवसर गुमाएको थियो। हेल्पको प्रहार क्रसबारमा लागेको थियो। त्यसपछि ६४ मिनेटमा स्पेनले अग्रता दोब्बर पार्ने अवसर पाए पनि उक्त अवसरमा सदुपयोग गर्न भने सकेन। इंग्ल्यान्डकी वाल्सको हातले बल छोएपछि स्पेनलाई पेनाल्टी दिइएको थियो। स्पेनका लागि पेनाल्टी हानेकी जेनिफर हर्मोसोको प्रहारलाई इंग्ल्यान्डकी गोलकिपर मेरी इर्प्सले विफल पारिदिएकी थिइन्।

स्पेन महिला विश्वकपको उपाधि जित्ने पाँचौ टोली बन्न सफल भयो। यसअघि अमेरिकाले चार पटक, जर्मनीले दुई पटक तथा नर्वे र जापानले एक/एक पटक फिफा महिला विश्वकपको उपाधि जितेका थिए।

इंग्ल्यान्डले सन् २०१५ मा तेस्रो स्थान हात पार्दा स्पेनले भने पहिलो पटक पदक पक्का गरेको थियो ।

Share