कैलालीमा पेट्रोल भनी पठाएको ट्याङ्करमा डिजेल मिसावट

तस्बिर : वीरेन्द्र शाह

कैलाली । कैलालीको एक पेट्रोलका लागि पेट्रोल भनेर पठाएको ट्याङ्करमा केही मात्रामा डिजेल फेला परेपछि ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएर नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी पेट्रोल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

बिहीवार आयल निगम धनगढीबाट जिल्लाको घोडाघोडी नगरपालिका १० मा रहेको पहलमानपुरको मित्र ट्रेडर्समा पठाइएको पेट्रोलको ट्याङ्करमा ३० लिटर डिजेल फेला परेको हो ।

पहलमानपुरमा रहेको पेट्रोल पम्पका लागि पठाइएको ट्याङ्करमा रहेको पेट्रोल मापन गर्दा मात्रा कम फेला परेको र च्याम्बरबाट पेट्रोल बाल्टीमा निकालेर परीक्षण गर्दा डिजेल मिसावट गरिएको थाहा भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले बिहीवार पठाएको ना ५ ख ७७३ नम्बरको ट्याङ्करमा पेट्रोलमा डिजेल मिसावट गरेको पाइएपछि इलाका प्रहरी कार्यालय सुखडले उक्त ट्याङ्कर नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि आयल निगमको जिम्मा लगाएको विश्वकर्माले बताए ।

‘कसैले आर्थिक लाभको लागि नै यस्तो गरेको हो भनौँ भने तेत्रो च्याम्बरमा ३० लिटर मात्र डिजेल भेटिएको छ । थोरै रकमको लागि त्यस्तो गरेको जस्तो पनि देखिँदैन । प्राविधिक गल्तीले यस्तो भएको हुन सक्ने अनुमान गरेका छौं । बाँकी चेकजाँचका लागि पठाएका छौं । परीक्षण पनि आवश्यक कारवाही हुन्छ,’ डीएसपी विश्वकर्माले भने ।

आफूले नियन्त्रण लिएको ट्याङ्कर आज नै आयल निगममा परीक्षणका लागि पठाई सकेको पनि उनले जानकारी दिए ।

Share