कैलाली । आज भदौ १ गते अर्थात सुदूरपश्चिमेलीहरुको ओल्के पर्व । विशेष गरी सुदूरका सात पहाडी जिल्लामा मनाइने यो पर्व भाद्र सङ्क्रान्ति अर्थात् आज मनाइन्छ। पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छरछिमेकीलाई बाँडेर आज सुदूरपश्चिम प्रदेशमा ओल्के हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
भाद्र सङ्क्रान्तिका दिन मनाइने यो पर्वको अघिल्लो दिनदेखि नै तयारी गरी हरेक घरमा मीठामीठा खानाका परिकार पकाउने परम्परा रहेको छ । रोजगारी तथा कामका लागि घर बाहिर रहेकाहरू पनि यो चाड मनाउन आआफ्नो घर फर्किने गर्दछन् ।
डोटेली शब्दकोषका अनुसार ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउने गर्दछ । यस्तो सम्मानोपहार दिने विशेष दिन नै ओल्के सङ्क्रान्तिका नामले सुदूरपश्चिमेलीहरुले धुमधामसँग मनाउने गरेका छन् । आफूभन्दा ठूलाबडाका, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठोमसिनो खानु, हातमा मेहन्दी लगाउनु यस पर्वको विशेषता रहि आएको छ। साथै यस पर्वमा आफ्ना मान्यजन, इष्टमित्र र छरछिमेकीलाई सगुनका रूपमा पिँडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध र दही आपसमा बाँडेर सम्मान गर्ने तथा आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा सुदूरपश्चिम प्रदेशमा वर्षौँदेखि कायम रहेको छ ।
अझ भनौँ ओल्के पर्वका दिन विवाहित छोरीलाई माइतीमा निम्तो गरी पुरी, बाबर, माणा, निसौसे, गतानी डुब्का लगायत डोटेली खानाका मीठा परिकार खुवाउने प्रचलन समेत रहेको छ । यस पर्वमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिसेर बनाइएको लेदोबाट हत्केला र खुट्टाको औँला रङ्ग्याइ रमाइलो गर्ने पनि गरिन्छ ।
यसरी पिसेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने भइ यसले वर्षातकाे मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने धार्मिक विश्वास रही आएको छ ।
चौतारो नजिकको रुखमा बाबियोको डोरीले बाँधेर पिङ हाल्ने र आज दिउँसोभर पिङ खेल्ने पनि गरिन्छ । साउन महिना भरी खेतबारीमा व्यस्त रहने किसानले केही रूपमा फुर्सद पाएको मानिने यस समयमा सबै भेला भएर पिङ खेल्ने र जसले गर्दा एकापसमा मित्रताको भावना जाग्ने पनि विश्वास छ । ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलिक उच्चो टाकुरामा सबैजना मिलेर रूखका हाँगाबिंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानीय भाषामा “बुढी हालेको” भन्दछन् । यो बूढीलाई असोज संक्रान्तिका साँझ प्रत्येक घरघरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर बूढी पोल्ने पर्व मनाउने परम्परा समेत रहेको छ ।
यसरी धुमधामसँग मनाइने र एकआपसमा दुःख सुख साटासाट गरेर मनाइने यस्ता मौलिक पर्वहरू भने पछिल्लो समयमा ओझेलमा पर्दै गएका छन् । कला संस्कृति प्रति युवापुस्ताको त्यति चासो नदेखिएकाले डोटेली मौलिक संस्कृतिका ओल्केजस्ता थुप्रै चाडपर्वको मौलिकता हराउन थालेको हो । तर यस पर्वको औचित्य कायम गर्ने सुदूरपश्चिम प्रदेश सरकारले भने आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले यो पर्व प्रदेश राजपत्रमा समेत समावेश गरेको छ ।













