काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले पीडित भनिएकी नाबालिका नाम परिवर्तित गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएपछि आजका लागि उनको मुद्दा स्थगित भएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गरेर ल्याउन आदेश दिएको हो।
इजलास समक्ष पेश भएको गौशाला २६ कि आमाको जन्म मिति दुईवटा देखिएपछि भएको विवाद हालसम्म पनि कायम रहेको छ। आमाले ११ वर्षको उमेरमा गौशाला २६ लाई जन्म दिएको भनेर जन्ममिति पेश भएपछि अदालतले यस्तो आदेश दिएको बताइएको छ ।
अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्रै पेशी तोक्ने जानकारी गराएको सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।
सन्दीपको मुद्दामा आज बिहीबारका लागि अन्तिम सुनुवाइ हुने भन्दै पेशी तोकिएको थियो तर इजलास समक्ष आमाको दुईवटा जन्ममिति पेश भएर विवाद देखिएपछि अदालतले यस्तो आदेश दिएको हो।













