डोटी । डोटीमा विकट मानिएको बडीकेदार गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर -२ को खड्यौलीमा सोमबार विधुत प्रसारण लाइन पुगेको छ । गाउँपालिका अध्यक्ष भैरव बहादुर साउदले बत्तीको स्विच अन गरेर २ नं. वडामा विधुत प्रसारण लाइनकाे उद्घाटन गरेका हुन । नेपाल विधुत प्राधिकरण डोटीको ५२ लाख २४ हजार लगानीमा गाउँपालिकाको सदरमुकाम सम्म बिजुली बिस्तार गरेको नेपाल विधुत प्राधिकरण दिपायलले जनाएको छ ।
आर्थिक वर्ष २०७९/०८० को टेन्डर अनुसार ५२ लाख २४ हजारको लागतमा ११ दशमलव ४७ किलोमिटर विधुत लाइन विस्तार गरिएको बताएको छ । उपकरण तथा सामाग्रीहरू प्राधिकरणका हुन भने निर्माण कम्पनीले काम गरेको हो । निर्माण कम्पनीलाई प्राधिकरणले १३ लाख ५१ हजार दिने सम्झौता बमोजिम कम्पनीले ६५ किलोमिटर वितरण लाइन विस्तारको काम गर्ने भएको छ ।
बडीकेदार गाउँपालिकाका सबै वडामा बिजुली विस्तारका लागि साढे १२ करोडको ठेक्का सम्झौता गरिएकोले दुई वर्ष भित्र सबै वडाहरूमा बिजुली बिस्तारको काम भइरहेको गाउँपालिका अध्यक्ष साउदले बताए । गाउँपालिकाका वडाहरूमा बिजुली बिस्तार अन्तर्गत सबै वडाहरूमा जाने लाइनको लागि पोलहरू बिस्तारको काम भइरहेको छ । पालिकामुकाममा पुगेको बिजुली केन्द्रीय प्रसारण लाइनको नभई बडीकेदार गाउँपालिका वडा नम्बर १ बिपीनगरमा रहेको सालमुनी हाइड्रोपावर बाट जडान गरिएको हो ।













