घाेडाघाडी नगरपालिका अगाडि सामुदायिक विद्यालयका शिक्षकहरूको धर्ना 

कैलाली । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आज देखि पालिका स्तरको धर्ना कार्यक्रमको घोषणा गरेसँगै कैलालीको घोडाघोडी नगरपालिकामा समेत शिक्षकहरूले धर्ना कार्यक्रम गरेका छन् । 

सरकारले संघीय शिक्षा ऐन २०८० मा शिक्षक कर्मचारीहरूको हक अधिकारका लागि गरिएका निर्णय नसमेटिएको र विगतमा गरिएका सम्झौतालाई पनि कार्यान्वयन नगर्ने देखिएको भन्दै देशभरका सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा छन् । आजदेखि नेपाल शिक्षक महासङ्घले देशव्यापीरूपमा आन्दोलनलाई अगाडि बढाएको छ । जस अन्तर्गत आज पालिका स्तरमा धर्ना कार्यक्रम गरिएको छ ।  यस्तै ३० गते जिल्ला शिक्षा समन्वय इकाईमा धर्ना दिने र ३२ गते प्रदेशका सामाजिक विकास मन्त्रालयमा धर्ना दिने कार्यक्रम तय भएको नेपाल शिक्षक महासंघ घोडाघोडी नगर कार्य समिति अध्यक्ष काशीराम जोशीले जानकारी दिएका छन् ।

देशभरिका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरूको ट्रेड युनियन अधिकार र पेशागत हक हितका सवालमा वर्षौ देखि पहलकदमी गर्दै सहमति भएको तर त्यसलाई कार्यान्वयन गर्ने कुरामा सरकारले कुनै कदम अगाडि नबढाएको पनि जोशीले बताए । साथै उनले सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐन २०८० मा आएका प्रावधानहरू बाहिर छरपस्ट देखिएका र  विगत लामो समय देखि उठाएका ट्रेड युनियन अधिकारहरू र पेशागत हक हितका सन्दर्भमा समाधान उन्मुख नभइकन उल्टै शिक्षक तथा कर्मचारीलाई हक हितबाट बञ्चित गर्ने दृष्टिबाट आएका भन्दै देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको सहमति भै ट्रेड युनियनको रक्षा गर्नका लागि यस्ता विभिन्न कार्यक्रम गर्न बाध्य भएको बताएका छन् ।

अहिले केन्द्रबाट नै शान्तिपूर्ण आन्दोलन गर्ने तालिका रहेका कारण पढाइलाई पनि कुनै असर नपर्ने गरी प्रत्येक सामुदायिक विद्यालयबाट समान प्रतिनिधित्व हुने गरी कर्मचारी बसी पालिकामा धर्ना दिई रहेको अध्यक्ष जोशीले बताए । 

नेपाल शिक्षक महासङ्घले आज देशभरिका सात सय ५३ स्थानीय तहमा धर्ना दिने कार्यक्रम तय गरेका कारण सोही आन्दोलनलाई आत्मसाथ गर्दै घोडाघोडीमा पनि उक्त धर्ना दिएको हो । जसमा घोडाघोडी नगरपालिका भित्र रहेका ५० सामुदायिक विद्यालयबाट करिब ७० जना शिक्षकको उपस्थितिमा तीन घण्टा धर्ना कार्यक्रम गरिएकाे थियो ।

Share