कैलाली । कैलालीको घोडाघोडी नगरपालिका सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा विद्यार्थीले ताला लगाएका छन् । साउन २८ गते आइतबार देखि सञ्चालन हुन लागेको स्नातक दोस्रो वर्षको परीक्षाकेन्द्र लम्की बहुमुखी क्याम्पस र खप्तड बहुमुखी क्यामपसमा कायम गरे पछि विद्यार्थीहरू आन्दोलित बनेका हुन् । त्रिभुवन विश्वविद्यालयले यस अघि घोडाघोडी बहुमुखी क्याम्पसमा नै कायम रहँदै आएको परीक्षाकेन्द्र अन्त सारे पछि परीक्षार्थीलाई आवतजावतमा समस्या हुने भन्दै विद्यार्थीहरू आन्दोलित बनेका हुन् ।
त्रिभुवन विश्वविद्यालयले यस अघि घोडाघोडी बहुमुखी क्याम्पसमा घोडाघोडी सहित लम्की बहुमुखी क्याम्पस, रघुनाथ आदर्श बहुमुखी क्याम्पस, महुन्याल बहुमुखी क्याम्पस, बुलबुले क्याम्पस, खप्तड बहुमुखी क्याम्पस र राष्ट्रिय कलेजका परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र तोक्ने गरेको थियो । तर हाल घोडाघोडी बहुमुखी क्याम्पसको परीक्षाकेन्द्र कटौती गरि मानविकी संकायकाे परीक्षा लम्की बहुमुखी क्याम्पस र व्यवस्थापन र शिक्षाशास्त्र संकायकाे परीक्षाकेन्द्र खप्तड बहुमुखी क्याम्पसमा कायम गरे पछि विद्यार्थीहरू आन्दोलित बनेको हुन् । उनीहरूले घोडाघोडी बहुमुखी क्याम्पसमै परीक्षाकेन्द्र कायम गराउन पहल नगरिएको भन्दै क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाई कार्यकक्ष भित्र थुनेर ताला लगाएका छन् ।
परीक्षाकेन्द्र घोडाघोडी बहुमुखी क्याम्पसमै कायम गराउन क्याम्पस प्रशासनले कुनै पहल नगरेको र विद्यार्थीलाई मार पर्ने देखिएकाले निर्णय सच्याउन दबाब स्वरूप ताला लगाउन बाध्य भएको घोडाघोडी बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सचिव हुकुम आचार्यले जानकारी दिए ।













