कैलाली । केही दिन यता लगातार परेको अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढीले कैलालीका विभिन्न स्थान डुबानमा परेका छन् । कैलालीको भजनी नगरपालिका अन्य स्थान भन्दा अधिक डुबानमा परेको छ । उक्त नगरपालिका भइ बग्ने काँडा, पथरैया, मोहना र कान्द्रा नदीको मार वर्षेनी भजनीवासीले झेल्दै आएका छन् ।

भजनी नगरपालिका वडा नं. ३ र ८ अझ अधिक डुबानमा छ । यि वडा पूर्ण रूपमा जलमग्न छन् । भजनीमा केही दिन यता मात्रै डुबानमा परि सयौँ घरपरिवार विस्थापित भइसकेका छन् । हालसम्म मानवीय क्षति भने भएको छैन् ।

भजनी नगरपालिकाको तथ्याङ्क अनुसार यस वर्ष मात्रै हाल सम्म नगरपालिका भित्र तीन हजार घर परिवार पूर्णरूपमा प्रभावित भएका छन् भने एघार सय घर परिवार विस्थापित भएका छन् । वडा नं. ३ र ८ मा मात्रै झण्डै दुई हजार परिवार प्रभावित भएका र वडा नं. ५ मा पनि दुई सय ५० घर परिवार पूर्णरुपमा प्रभावित भएका भजनी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष विक्रम चौधरीले जानकारी दिएका छन् ।

बाढी प्रभावित परिवारको राजमार्गमा बास
बाढी र डुबानबाट विस्थापित परिवारहरू हुलाकी राजमार्गमा खुला आकाश मुनि तिरपाल टाँगेर बस्न बाध्य भएका छन् । सबै ठाउँबाट हुलाकी राजमार्गमा आउन सक्ने स्थिति समेत छैन् । वडा नं. ३ का नयाँ बस्ती र दैलेखी बस्तीका बाढी प्रभावितहरू हुलाकी राजमार्गमा आउन सक्ने स्थितिमा छैनन्। दैनिक उपभोग्य समानका लागि डुङ्गाको प्रयोग गरिरहेका उनीहरू सपरिवार हुलाकी सडकमा आएर बस्न सक्ने स्थितिमा नरहेको स्थानीय जयराम जोशीले बताएका छन् ।

कैलालीका भजनीसँगै टीकापुर, लम्कीचुहा नगरपालिका एवं जाेशीपुर, जानकी र कैलारी गाउँपालिकामा समेत वर्षेनी बाढीले वितण्डा मच्चाइ रहेको छ ।













