अविरल वर्षाले आएको बाढीले कैलालीमा साढे चार सय भन्दा धेरै घर डुबानमा

जलमग्न कैलालीको भजनी तस्बिर : स्थानीय

कैलाली । केही दिन देखि लगातार परेको अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढीले कैलाली जिल्लाका विभिन्न स्थानका दर्जनौँ परिवार प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीले त्यस्तो ठूलै असर नभएको भए पनि बाढी घरमा पसेर जिल्लाभर करिब चार सय ६२ परिवार प्रभावित भएका जनाएको छ । तीमध्ये केही परिवार विस्थापित भएका छन्।

विस्थापित भएका परिवारको यकिन संख्या जिल्ला प्रशासन कार्यालयसँग नभएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनले भने, ‘यकिन तथ्यांक त हामीसँग अहिले उपलब्ध छैन बिहान सम्मको डाटा हेर्दा साढे चार सय घरहरू डुबानमा परेका छन् । अहिले पानी पर्न केही कम भएको छ जसले गर्दा त्यो समस्या केही हदसम्म कम भएको हामी अनुमान गर्न सक्छौँ । ठूलै क्षति त अहिले भएको छैन ।’

कान्द्रा नदीमा आएको बाढी बस्ती पस्दा भजनी नगरपालिका ७, शिराधानी शिविरमा एक सय ५० परिवार प्रभावित भएका जोशीले जानकारी दिए। यस्तै भजनी ५ कुटीका ५० घरधुरी र पुलियापुरका १६ घरधुरीमा कान्द्रा नदीको बाढी पसेको छ।

त्यसै गरी कटैनी खोलामा आएको बाढीका कारण कैलारी गाउँपालिका ७ बसन्ताका ८५ घरधुरी, बड्की बसन्ताका ५० घरधुरी र भुँइयाफाँटाका २० घरधुरी प्रभावित बनेका पनि प्रशासनले जानकारी दिएको छ।

नदीको बाढी घरमा पसेपछि केही परिवारले घर छोडेको जनाएको छ। यस्तै यता जोशीपुर गाउँपालिकाको फाँडिया र भितरियाका ५६ घरधुरीमा स्थानीय काँडा नदीको बाढी पसेको पनि प्रशासनले जनाएको छ ।

गएराति परेको भारी वर्षापछि कैलालीमा विभिन्न नदी तथा खोलाहरूमा आएको बाढीले दर्जनौँ परिवार प्रभावित बनेका छन् । विशेष गरी मोहना, कान्द्रा, काँडा, पथरैयालगायत नदीमा पानीको बहाव बढेको छ।

गएरातिको वर्षाले सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पनि अवरुद्ध बनेको छ। राजमार्ग अन्तर्गत खानीडाँडा र बुढीतोलाको बीचमा सडक भासिएका कारण सात पहाडी जिल्लाको यातायात ठप्प बनेको छ।

भासिएको भीमदत्त राजमार्ग
तस्बिर : सामाजिक सञ्जाल

 

Share