घोडाघोडीमा समेत आँखा पाक्ने रोगको प्रकाेप बढ्दै

सुखड स्थित गेटा आँखा अस्पताल आँखा उपचार केन्द्र

कैलाली । केही दिन यता कैलाली र कञ्चनपुरमा आँखा पाक्ने रोग (भाइरल कन्जंक्टिभाइटिस) काे प्रकाेप बढ्दै गएकाे छ ।  कैलालीको घोडाघोडी नगरपालिकामा समेत यसकाे प्रकाेप बढेकाले स्थानीयमा त्रास फैलिएकाे छ । खासगरि नगरपालिकाका विद्यालयमा अझ तिब्र रूपमा भाइरल कन्जंक्टिभाइटिस फैलिरहेकाे छ । यसकाे प्रकाेप विध्यार्थीमा बढदै गए पछि घोडाघोडी सामुदायिक माध्यमिक विध्यालयले चार दिन बिदा समेत दिएकाे छ ।


उपचारका लागि कहाँ जाने ?

घोडाघोडी नगरपालिकामा २०७८ सालको चैत्र महिनादेखि नगरपालिकाकाे सहयोगमा गेटा आँखा अस्पताल आँखा उपचार केन्द्र सञ्चालनमा रहेको छ । नगरपालिकाको वडा नं. १ सुखड स्थित वडा कार्यालय परिसरमा सञ्चालनमा रहेको उक्त आँखा उपचार केन्द्रमा उपचार गराउन आउने  दैनिक ३० देखि ४० जनामा भाइरल कन्जंक्टिभाइटिस पुष्टि भइरहेको आँखा उपचार केन्द्र सुखडका इन्चार्ज निशा श्रीपाइलीले जानकारी दिइन् । साथै उनले चेकजाँच गर्न आउने  ९९ प्रतिशतमा भाइरल कन्जंक्टिभाइटिस पुष्टि भइरहेको बताइन । दिनहुँ बिरामीकाे चाप बढ्न थाले पछि प्रभावकारी सेवा दिन कठिनाइ भइरहेकाे उनले बताइकी छन् ।

घोडाघोडी नगरपालिकामा विद्यालय तीब्र रूपमा फैलिएकाले विद्यालय केही दिन बन्द गरिदिन आग्रह  गर्दा समेत अटेरी गरिरहेकाले झन समस्या उत्पन्न भइरहेकाे उनले बताएकी छन् ।  हाल दैनिक रूपमा बिरामीको चाप बढी रहेको र पर्याप्त औषधि समेत नरहेको अवस्थामा घोडाघोडी  नगरपालिकाले पनि सहयोग नगरेको श्रीपाइलीले बताइन । औषधि अभावका कारण एउटै घरका व्यक्तिहरूमा संक्रमण पुष्टि भएमा परिवारका सबैलाई हुने गरी प्रयोग गर्न आग्रह गरेकाे उनले बताएकी छन् ।

तर यता नगरपालिका भने औषधि प्रसस्त मात्रामा रहेको दाबी गरिरहेकाे छ । घोडाघोडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख वेद बहादुर चौधरीले औषधिको अभाव भएकाे जानकारी गराए सहजै उपलब्ध गराउने भन्दै कति समस्या छ सबै जानकारी नहुने भएकाले स्वास्थ्यकर्मीले जानकारी गराए सहजै औषधि उपलब्ध गराउने बताएका छन् ।


आँखा पाक्ने रोगका लक्षणहरू :

  • आँखा रातो हुने र चिलाउने ‌
  • आँखाबाट आँसु बगिरहने वा कचेरा/ चिप्रा लाग्ने
  • आँखाको ढकनी रातो हुने, सुन्निने ‌
  • आँखा बिझाउने / दुख्ने ‌
  • घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने 

रोकथामका उपायहरूः

  • संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने र संक्रमित व्यक्ति भिडभाडमा नजानेसं
  • क्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने
  • जथाभावी आँखा नछुने, आँखा छुनु परेमा छुनु अघि वा छोइसके पछि साबुन पानीले मिचिमिची राम्रोसँग हात धुने
  • व्यक्तिगत सरसफाइमा ध्यान दिने 
  • चस्माको प्रयोग गर्ने

भाइरल कन्जक्टिभाइटिस भए घरमा स्याहार कसरी गर्ने ? ‌

  • बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने
  • आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने
  • आँखा छोइसकेपछि साबुन पानीले मिचिमिची राम्रोसँग हात धुने
  • प्रसस्त मात्रामा पानी र पोषिलो खाना खाने 
  • ‌बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने 
  • संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धुने वा सफा गर्ने
  • संक्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने ।

भाइरल कन्जक्टिभाइटिस भएमा नआत्तिन स्वास्थ्यकर्मीले सुझाएका छन् । यो रोग एक देखि दुई हप्तामा आफैँ निको हुन्छ । स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधी प्रयोग गर्नु हुँदैन् ।  यो रोग लागि हाले पनि आफै सर्दैन सुरक्षाका उपाय अपनाए वा संक्रमित व्यक्तिबाट टाढा रहेमा सर्दैन । तर कहिले कँही यसले आँखामा समस्या ल्याउन सक्ने भएकाले बेलैमा चिकित्सकलाई देखाई चिकित्सकको सल्लाह अनुसार उपचार गर्न जरूरी हुन्छ ।

Share