कैलाली । दुई वर्ष अगाडि अर्थात् २०७८ साउन १९ गते नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान पारस खड्काले राष्ट्रिय क्रिकेट टोलीबाट सन्यासको घोषणा गरेका थिए । त्यही दिन पुनः शुक्रबार पनि दोहोरियो । पारसका हितैषी मानिने नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पनि सोही दिनको मौका छोप्दै साउन १९ गते राष्ट्रिय टोलीबाट सन्यास लिए ।
कुनै बेला नेपाली क्रिकेट टोली खेल खेल्न मैदान उत्रिन्थ्यो खेल प्रेमीको मुखबाट निस्किने नाम थिए पारस र ज्ञानेन्द्र । कठिन परिस्थितिमा पनि टोलीलाई सम्हाल्न सक्ने यी दुई खेलाडी नेपाली क्रिकेटमा निकै परिचित नाम हुन । जसले नेपाली क्रिकेट टोलीलाई डिभिजन पाँच बाट एकदिवसीय मान्यता दिलाए । २०१४ को विश्वकपमा टोलीलाई पुर्याएनन मात्र त्यसमा पनि अफगानिस्तान र हङकङलाई पराजित समेत गरे । यसरी भनेर त्यसबेला महत्वपूर्ण योगदान दिने शक्ति गौचन, शरद भेषवाकर, वसन्त रेग्मीलाई पाखा लगाएको भने हैन सबैको स्थान महत्वपूर्ण नै थियो । अहिले यी सबै खेलाडीले सन्यास नलिए पनि टोलीमा छैनन् । जसले नेपाली क्रिकेटलाई मार्ग देखाए आज त्यही व्यक्ति टोलीमा नहुनु र सन्यासको घोषणा गर्नुले टोलीलाई कुनै न कुनै रूपमा यी खेलाडीलाई आवश्यकता महसुस त अवश्य नै हुने छ । अझ भनौँ अब हुने एसिया कपमा भारत र पाकिस्तानको सामना गर्दा पक्कै पनि अनुभवी खेलाडीको अभाव खड्किने नै छ ।
नेपाली टोलीमा पारस खड्कापछि खेल प्रेमीको मुखमा ज्ञानेन्द्र मल्ल नाम आउँथ्यो । खेल प्रेमीले उनको नाम ‘ज्ञानु’ राखेका थिए । हाल सम्म पनि उक्त नाम नै पुकार्छन् दर्शक । खड्का र मल्लको जोडी टोलीको लागि हर प्रयत्नमा थियो । उनीहरूको स्थान पनि निश्चित थिएन किनकि उनीहरू टोलीको आवश्यकता अनुसार जहाँ पनि खेल्ने गर्थे । कहिले यो जोडीले ओपनिङ गर्यो त कहिले मिडिल अर्डर सम्हाल्यो। ज्ञानुले प्रायः जसो ओपनिङ नै गर्ने गर्थे टोलीमा तर पनि आवश्यकता अनुसार तेस्रो नम्बरमा पनि उनको निकै ठूलो भूमिका थियो । खड्काले पनि केही समय उनीसँगै ओपनिङ गरे । जुन जोडी नेपाली क्रिकेट प्रेमीको एकदम रुचाइएको जोडी थियो । लामो समय देखि टोलीमा कुममा कुम जोडेर अघि बढी रहेका यी दुई खेलाडी खड्का टोलीको कप्तान हुँदा मल्ल उपकप्तानको भूमिकामा रही केही सिक्ने र खड्कालाई साथ दिने क्रम चली रहेको थियो ।
खड्काले अचानक आफूले क्रिकेट जीवनबाट विश्राम लिन चाहेको भन्दै सन्यासको घोषणा गरे । उनको त्यो निर्णय सबैले फिर्ता लिन आग्रह समेत गरे तर उनले अब आफू टोलीमा फर्किन नसक्ने तर कुनै न कुनै रूपमा टोलीको साथमा नै रहने वचन दिँदै लामो अनवरत संघर्षरत यात्रालाई त्यही टुङ्ग्याइ दिए । त्यही बेला एक स्वर्णिम युगको अन्त्य भएको थियो । जहाँ नेपाली क्रिकेटबाट पारस युगको अन्त्य भएको थियो । जुन निकै अपत्यारिलो र दुःखदायी थियो ।
नेपाली दर्शकले मलम पट्टी लगाएर निको हुन लागेको घाउ पुनः ज्ञानुले शुक्रबार मात्रै लिएको सन्यासले बल्झाई दिएको छ । पारसले सन्यास लिएको दुई वर्ष मात्रै बित्दै गर्दा सोही दिनको मौका छोपी ज्ञानुको त्यो निर्णयसँगै मल्ल युगको पनि विधिवत् अन्त्य भयो । शुक्रबार काठमाडौंमा आकस्मिक रूपमा पत्रकार सम्मेलन गरी १८ वर्षे क्रिकेट जीवनबाट सन्यासको घोषणा गर्दा भावहील बनेका ज्ञानेन्द्रले सबैलाई धन्यवाद दिँदै राष्ट्रिय टोलीबाट आफूले विश्राम लिएको बताए । राष्ट्रिय क्रिकेट टोली बिहीबार मात्र श्रीलङ्काबाट नेपाल पुगेको थियो तर त्यसमा मल्ल थिएनन् ।
‘प्लाइउडमा लिस्टी ठोकेर बनाएको ब्याट, पत्रिका पानीमा भिजाएर रबर बेरेर बनाएको बल खेल्दा खेल्दै राष्ट्रिय टिममा जोडिएको पनि झण्डै २ दशक भइसकेछ ।’
नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा कहिल्यै नदेखिने गरी बिदा भए ज्ञानु । उनले सन्यास लिने बेला भने ‘१८ वर्षसम्म चन्द्र सूर्य अंकित जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने अवसर पाएँ, उपकप्तान र कप्तानको भूमिकामा रही देशको झण्डा काँधमा बोकेर नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएँ । राष्ट्रको आशा र सपनाको प्रतीक बनेर मैदानमा उत्रिँदा इमान्दारिताका साथ सत प्रतिशत दिने प्रयास गरेँ । यो अवसरहरूका लागि म धेरै कृतज्ञ छु, आएका कठिन परिस्थितिहरूलाई पनि सिकाइका रुपमा लिएँ । समग्रमा भन्नुपर्दा म निकै सन्तुष्ट छु ।’
कुनै समय यस्तो थियो नेपाली टोली धराशायी अवस्थामा पुगेको हुन्थ्यो र खेल प्रेमीले अझै ज्ञानु दाइ बाँकी नै छन् जित हाम्रै हो भन्ने गरेका थिए । उनमा अनुभवको कुनै कमी थिएन । मैदानमा खेलाडीलाई मिलाएर राख्ने क्षमता उनमा थियो । उनको फिल्डिङ हेर्दा सबैलाई जोस आउँथ्यो । पछिल्लो पुस्तामा उनको त्यो क्षणलाई बिर्साउने एउटै खेलाडी हुन भीम सार्की । उनको फिल्डिङ पनि कम छैन मल्लको भन्दा । उनलाई ‘जोन्टी’ भनेर चिन्छन् । ‘जोन्टी’ नाम उनले फिल्डिङकै कारण पाएका हुन । तर मल्लको योगदान भने कसैले बिर्सिने छैनन् । प्रायः जहिले ओपनिङ गरी रहने मल्लले आफ्नो स्थान तेस्रो नम्बरमा सुरक्षित गर्न तब पाए जब नेपालमा एक अनुभवी मुख्य प्रशिक्षकका रूपमा डेभ वाटमोर नेपाल आए । उनले लामो समय देखि ओपनिङ जोडी नपाएर तड्पिएको नेपाली टोलीलाई एक ओपनिङ जोडी तयार पारी दिए ।
२०२१ को अप्रिलमा काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको नेपाल, मलेसिया र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक टी २० सिरिजमा नेपाललाई एक ओपनिङ जोडी दिलाए । जसमा युवा अनुहार कुशल भुर्तेल र आशिफ शेखको जोडी नेपालको ओपनिङमा आयो । त्यसयता उनीहरू नै ओपनिङ गरी रहेका छन् । त्यसपछि मल्लको तेस्रो नम्बर स्थान सुरक्षित भयो । जहाँ उनले कठिन परिस्थितिमा पनि टोलीलाई सहजता तिर धकेल्न काम गर्थे ।
तर केही समययता उनी लयमा नरहेका कारण टोलीमा परी रहे पनि अन्तिम ११ मा भने मौका पाई रहेका थिएनन् । किनकि युवा खेलाडीहरू निकै लयमा थिए । त्यसकारण उनी बाहिर बस्नु पर्ने अवस्था थियो । उनले त्यो अवस्थालाई सहर्ष स्वीकार गरेर बाहिरबाट टोलीलाई हौसला दिई रहन्थे । चाहे त्यो विश्वकप लिग दुई होस्, विश्वकप छनोट होस् या एसीसी प्रिमियर कप नै किन न होस् बाहिर बसेर खेलाडीलाई ताली भएर हौसला दिई रहेका थिए ।
नेपाली क्रिकेटमा स्वर्णिम पुस्ता
यससँगै नेपाली क्रिकेटको एउटा स्वर्णिम पुस्ता राष्ट्रिय टोलीबाट लगभग अलग भएको छ । सन् १९९६ मा पहिलो टोली बनाएको नेपालको क्रिकेटमा पारस खड्का र ज्ञानेन्द्र मल्लहरूको पुस्तालाई गोल्डेन जेनेरेसन मान्ने गरिन्छ । यो पुस्ताले नेपाललाई पहिलो पटक २०१४ मा टी २० विश्वकप क्रिकेटमा पुर्याएको थियो । विश्वकप खेलेको टोलीमा पारस खड्का कप्तान थिए भने मल्ल उपकप्तान । उनीहरूकै नेतृत्वमा नेपालले २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो । त्यो गोल्डेन जेनेरेसनका ‘द पावर’ स्पिनर शक्ति गौचनले २०१८ मै सन्यास लिए भने पारस खड्काले सन्यास लिएको दुई वर्ष भइसक्यो ।
औपचारिक रूपमा सन्यास घोषणा नगरे पनि बसन्त रेग्मी, सुवास खकुरेल, सागर पुन र नरेश बुढाऐर लामो समयदेखि टोलीमा परेका छैनन् । विनोद भण्डारी, शरद भेषवाकर, जितेन्द्र मुखियाले पनि राष्ट्रिय टोलीबाट नलेखेको धेरै भइसक्यो ।
विश्वकप खेलेको टोलीका एक्ला सदस्य सोमपाल कामी मात्र अहिले राष्ट्रिय टोलीमा छन् । ‘पहिलो ब्याच हाम्रो भए पनि पारस र ज्ञानेन्द्रहरू नेपाली क्रिकेटको गोल्डेन जेनेरेसन हुन्’ नेपालको पहिलो टोलीका सदस्य समेत रहेका प्रशिक्षक जगत टमाटा भन्छन्, ‘आज ज्ञानुले सन्यास लिएको सुन्दा दुःख लाग्यो ।’
मल्ल भने नेपाली क्रिकेट सुरक्षित स्थानमा पुगेकाले सन्यास लिएको बताउँछन् । हुन पनि मल्लले यस्तो समयमा कप्तानीको जिम्मेवारी पाएका थिए, जतिबेला करिब १० वर्ष कप्तानी गरेका पारस खड्काले राजीनामा दिएका थिए ।
अपमानित ढङ्गबाट राष्ट्रिय टोलीको कप्तानबाट निष्कासित मल्ल
राष्ट्रिय टोलीका कप्तान सम्हालेको लामो समय नबित्दै उनीलाई नेपाल क्रिकेट संघले कारवाही गर्दै कप्तानबाट हटाइयो। नोभेम्बर २०१९ मा कप्तान भएका उनलाई प्लेयर ग्रेडिङ र कन्ट्रयाक्टमा प्रश्न उठाएको भन्दै क्यानले २०२१ डिसेम्बरमा कप्तानबाट मात्र हटाएन, छ महिनासम्म सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय समेत क्यानले गर्यो । र नयाँ कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गर्यो ।

त्यसविरुद्ध राष्ट्रिय टोलीका खेलाडीहरू विरोधमा उत्रिएका थिए । मल्ल र तत्कालीन उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई निलम्बन गर्ने निर्णय फिर्ता लिनुपर्ने उनीहरूको मत थियो । अन्तः खेलाडी बन्द प्रशिक्षणमा समेत खेलाडी नगए पछि खेलाडी कारवाही त फिर्ता लियो तर कप्तानमा भने पुनर्बहाली गरेन । राष्ट्रिय टोली दुई खेमामा बाँडिएला जस्तो भए पनि मल्लले कप्तानमा पुनर्बहाली नभएकै अवस्थामा मा फर्किने निर्णय लिए ।
मल्ल टोलीमा हुँदा नेपाली क्रिकेटका उपलब्धि
नेपालले एकदिवसीय मान्यता जोगायो, विश्वकप छनोट खेल्यो, अनि अब एसिया कपको तयारीमा छ । अब नेपाली क्रिकेट सुरक्षित स्थानमा आइपुगेको भन्दै मल्लले सन्यास लिए । अब बाँकी टोलीको जिम्मा युवा खेलाडीको हातमा छोडेर उनी सधैँको लागि राष्ट्रिय टोलीबाट बाहिरिएका छन् । अब अनुभवी खेलाडीको रूममा भनौँ अर्थात् २०१४ को विश्वकप खेलका एक्ला खेलाडी भनौँ सोमपाल कामी मात्र टोलीमा रहेका छन् । जसले अब आफ्नो लामो अनुभव बाँड्दै टोलीलाई अगाडि बनाउनु पर्ने छ । भर्खरै यू १९ बाट राष्ट्रिय टोलीमा प्रवेश गरी कप्तान बनेका रोहित कुमार पौडेललाई हर कुराको अनुभव दिलाउँदै टोली अगाडि बनाउनु पर्ने जिम्मेवारी कामी माथि आई परेको छ । उनी सम्भव त त्यो आफ्नो जिम्मेवारी पूरा गर्ने छन् । यसमा कुनै दुई मत छैन । उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीमा एक्ला तीब्र गतिका बलर हुन् जसले गर्दा उनी सधैँ टोलीमा रही रहनेछन् सन्यास नलिँदा सम्म ।
ज्ञानेन्द्रको १८ वर्षे क्रिकेट जीवन
काठमाडौंको भीमसेनस्थानमा जन्मिएका ज्ञानेन्द्रले २००५ मा यू १५ मा एसीसी यू १५ कपबाट क्रिकेट करियर सुरु गरेका थिए । त्यही वर्ष यू १७ र यू १९ को टोलीमा परेका उनले अर्को वर्ष नेपालको सिनियर टोलीमा मौका पाएका हुन् ।
२००५ मा नेपाली यू १९ टोलीले प्लेट च्याम्पियनसिप जित्दा उनको उत्कृष्ट प्रदर्शन रहेको थियो । जसको कारण उनले २००६ मा इन्टर कन्टिनेन्टल कप क्वालिफायर्सको चारदिने खेलमा नेपालको राष्ट्रिय टोलीबाट नामिबिया विरुद्ध खेल्दै डेब्यु गरे । नेपाली क्रिकेटको गोल्डेन जेनेरेसनमा मल्ल भरोसायोग्य ब्याट्सम्यानका रूपमा समेत चिनिन्थे ।
२०१२ को एसीसी ट्रफी एलिटमा साउदी अरेबिया विरुद्ध मात्र १७ बलमा अर्धशतक बनाउने क्रममा एकै ओभरमा छ चौका प्रहार समेत मल्लले नै गरेका थिए । सिंगो प्रतियोगितामा दुई अर्धशतक सहित दुई सय १२ रन बनाए र नेपालले पहिलो पटक उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले ।
टोली दबाबमा परेको बेला इनिङ सम्हाले मल्लले २०१४ को विश्वकप छनोटमा क्यानडा विरुद्ध ८६ रन, २०१२ को डिभिजन चार मा कतार विरुद्ध ७६ रन, २००८ मा डिभिजन पाँच मा अमेरिका विरुद्ध ७५ रन बनाएका थिए । पहिलो शतक भने उनले २०१४ मा डिभिजन थ्रीमा सिंगापुर विरुद्ध बनाएका थिए ।
उनका लागि करिअरमा सबभन्दा खट्किने पक्ष भनेको ठूलो स्कोर बनाउन नसक्नु हो । उनले २०१९ मा टी २० अन्तर्राष्ट्रियमा भुटान विरुद्ध शतक प्रहार गरेका थिए । त्यसयता एकदिवसीयमा ३७ खेल खेल्दा सात अर्धशतकमै चित्त बुझाउनु पर्यो ।
‘एकदिवसीयमा शतक बनाउने, पाँच विकेट लिने, विकेट किपिङ पनि गरेर स्टम्पिङ विकेट निकाल्ने रहर त थियो नि !’ एकदिवसीयमा शतक किन बनेन भन्ने प्रश्नमा पूर्व कप्तान मल्लले भने, ‘म आफैंलाई पनि सधैँ प्रश्न गर्थे मैले किन ठूलो स्कोर बनाउन सकिनँ भन्ने चाहिँ ठ्याक्कै उत्तर भेटिनँ ।’
आफूलाई क्रिकेट खेलाडी भनेर चिनिनु नै आत्मसन्तुष्टि मान्ने मल्ल टी २० विश्वकप अविस्मरणीय क्षण मान्छन् । अनि टेष्ट र एकदिवसीय विश्वकप खेल्न पाउनुलाई आफ्नो करियरको अधुरा लक्ष्य मान्दै आफ्नो क्रिकेट जीवनबाट बिदाइका हात हल्लाएका छन् । ४५ टी २० आई सहित ६८ टी २० खेल खेलेका उनले लिस्ट ए मा ७७ खेल खेल्दै ११ अर्धशतक बनाएका छन् । उनले राष्ट्रिय टोलीबाट ३७ एकदिवसीय खेलमा आठ सय ७६ रन बनाएका छन् भने यस्तै ४५ टी २० खेलमा आठ सय ८३ जोड्दा एक शतक र दुई अर्धशतक समेत प्रहार गरेका छन्।
राष्ट्रिय टोलीका ‘ज्ञानु दाइ’
युवा पुस्ताको आगमन बढेसँगै नेपालको राष्ट्रिय टोलीमा थोरै अनुभवी खेलाडीमध्ये एक थिए ज्ञानेन्द्र । कप्तानको जिम्मेवारी छाडेपछि पनि उनले मेन्टरको भूमिकामा खेल्दै आएका थिए । ‘ज्ञानु दाइ टोलीको मेन्टर हुनुहुन्थ्यो, हामीलाई जस्तोसुकै अवस्थामा सम्हाल्नु हुन्थ्यो । दाइ हुनुहुन्छ भनेपछि ढुक्क हुन्थ्यो’ मल्लको अप्रत्याशित सन्यासले आफू आश्चर्यचकित पारेको राष्ट्रिय टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल बताउँछन् ।
राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले पनि मल्लले टोलीको शानदार जितका लागि समर्पण र उतारचढावमा मार्गदर्शनको मिसाल कायम गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईंले जुन निस्वार्थता, त्याग र सहयोग मलाई गर्नुभएको छ, त्यो अमूल्य छ’ सन्यासपछि पनि मैदान भित्र होस् वा बाहिर होस्, मल्लले छाडेको विरासतले सधैँ प्रेरित गर्ने छ ।’
पूर्वकप्तान पारस खड्काले मल्लसँगै ड्रेसिङ रुम शेयर गर्न पाउनु आफ्नो सौभाग्य भएको बताएका छन् । साथै उनले भनेका छन्, ‘निकट भविष्यमा यो देशका युवा आकांक्षी क्रिकेटरहरूको सपना साकार पार्न तपाईंको ठूलो भूमिका हुनेछ ।’
उनले सन्यासको घोषणा गर्दा विदेशी खेलाडीले पनि उनको प्रशंसा गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । पछिल्लो समय नेपाली टोलीसँग निकै परिचित टोली यूएईका अलराउन्डर रोहन मुस्तफाले पनि सामाजिक सञ्जालमा ‘एउटा उत्कृष्ट खेलाडी, सधैँ सम्झना हुने’ भन्दै पोष्ट्याएका छन् ।
यस्तै नेपाली टोलीसँग निकै परिचित आईसीसी कमेन्टर एन्ड्रयू लियोनार्ड लेख्छन्, “आफ्नो राष्ट्रको लागि एक असाधारण सेवक जसले मैदानमा र बाहिर दुवैमा गरेको सबै कुरामा वर्ग र गुणस्तरलाई बाहिर निकाल्यो। ज्ञानेन्द्रको विशेषता भनेको उनको दृढ संकल्प, सीप, नेतृत्व र निस्वार्थता थियो जसले आफ्नो टोली र नेपाललाई सधैँ प्राथमिकतामा राख्यो। अहिलेको नेपाली टोलीको विकासमा उहाँको भूमिकालाई पनि अतिरञ्जित गर्न सकिँदैन, टोलीको वरिपरि एकजना महान् व्यक्तित्व छ।”

उनको सन्यासका बारेमा राष्ट्रिय देखि अन्तर्राष्ट्रिय खेलाडीले सबैले लेखेका छन् । क्यानले पनि उनको सन्यासमा “असाधारण यात्रामा बिदाइ गर्दै। वर्षौ बाउन्ड्रीहरू प्रहार गरेर र अविस्मरणीय सम्झनाहरू बनाएपछि, उहाँ नेपालका लागि एक उत्कृष्ट ब्याट्सम्यान र क्यारिज्म्याटिक कप्तान हुनुहुन्छ, जसले हामीलाई धेरै ऐतिहासिक जितहरू र कोसेढुङ्गाहरू पुर्याएको छ। धन्यबाद, ज्ञानेन्द्र मल्ल, नेपाली क्रिकेटमा तपाईंको अमूल्य योगदानको लागि।” लेखेको छ ।














