घोडाघोडी नगर अस्पताल: सम्झौता अवधि समाप्त हुँदा समेत जग मात्र, निर्माण कम्पनी समय थप्ने दाउमा 

निर्माणाधीन अवस्थामा जग मात्र हालेर दुई वर्ष देखि अलपत्र पारिएको घोडाघोडी नगर अस्पतालको

कैलाली । नेपाल सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका लागि ५, १० र १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने कार्यको थालनी गरेको थियो । २०७७ मंसिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक साथ शिलान्यास गरेका थिए । 

सोही अनुसार हरेक स्थानीय तहहरूले अस्पताल निर्माण कार्यलाई अगाडि बढाए । कैलालीको घोडाघोडी नगरपालिकाले समेत वडा नं. २ साडेपानीमा १५ शैयाको नगर अस्पताल बनाउने निर्णय ग¥यो । नगर अस्पताल निर्माणको सम्झौता राजेन्द्र निर्माण सेवा प्रा. लि डडेलधुरासँग गरियो । कम्पनीले १० करोडमा दुई वर्ष भित्र भवन निर्माण गर्ने भन्दै २०७८ बैशाख २९ गते  ठेक्का सम्झौता भयो । तर अस्पतालका लागि दुई वटा भवन बनाउनु पर्नेमा हाल सम्म एउटा भवनको जग मात्र बनेको छ । राजेन्द्र निर्माण सेवासँगको सम्झौता अवधि भने गत बैशाख २९ गते समाप्त भइसकेको छ । निर्माण सम्झौता अवधि समाप्त हुँदा दुई भवन बन्नु त परको कुरा एउटा भवनको जग मात्र बनाएर निर्माण कम्पनीले काम ठप्प पार्दा समेत नगर सरकार मौन छ । 

घोडाघोडी नगपालिका प्रमुख खडक बहादुर रावत,  ‘समयमै नगर अस्पतालका लागि भवन निर्माण सम्पन्न गर्न कम्पनीलाई बारम्बार ताकेता गर्दा बेवास्ता गरेको भन्दै निर्माण कम्पनीले योजना अलपत्र पारेको’ आरोप लगाउँछन् । उता भवन निर्माणको ठेक्का सम्झौता गरेको कम्पनी भने आर्थिक समस्या तथा नगर पालिकाले बजेटको कुनै सुनिश्चितता नै नगरेकाले बाँकी कार्य गर्न समस्या भइरहेको बताई रहेको छ । 

राजेन्द्र निर्माण सेवाका इन्जिनियर रोशन भट्ट, ‘गत असार मसान्तमा नगरपालिकासँग ५० लाख रकम माग गर्दा नदिएको र गत वर्ष माग गरेको रकम यस वर्ष पनि नआए योजना अगाडि नबढ्ने बताउँछन् । साथै उनले नगरपालिकाले बिल भुक्तानी नगरिदिएकाले पनि समस्या उत्पन्न भएको भन्दै योजना सम्पन्न गर्न डेढ वर्ष म्याद थप्नु पर्ने समेत बताएका छन् ।  तर यता नगर प्रमुख रावत भने काम गरे अनुसारको सबै भुक्तानी भइसकेको दाबि गरिरहेका छन् ।  

राजेन्द्र निर्माण सेवाका सञ्चालक भीम बहादुर साउद डडेल्धुराको परशुराम नगरपालिकाका पूर्व मेयर समेत हुन । उनी हाल नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति छन् ।

नियमन गर्ने र सम्झौता अवधि भित्र निर्माण कार्य सम्पन्न गर्न दवाव दिने निकाय नगरपालिका हो ।  तर यता घोडाघोडी नगर सरकार भने निर्माण कम्पनीलाई कारबाही गर्नुको साटो प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुख बिचको जुँगाको लडाइमा रूमल्लि रहेको छ । 

नेपालमा आयोजना निर्माणमा लापरबाही गर्ने र बारम्बार म्याद थप्ने प्रवृत्ति नौलो भने होइन । विविध समस्या देखाएर योजना समयमै सम्पन्न नगर्नु र योजनालाई अलपत्र पार्नु निर्माण कम्पनीको नियम जस्तै बनेको छ ।

शक्ति र सत्ताको आडमा योजना निर्माण सम्झौता गर्ने तर योजना अलपत्र पारी विभिन्न बहानामा एक अर्कालाई दोष लगाई पन्छिने गर्नाले निर्माण कम्पनीहरू बदनाम समेत भइरहेका छन् । साथै नागरिकलाई मिठा सपना देखाई नगर हाक्ने जिम्मा पाएका जनप्रतिनिधिले योजना सम्पन्न गर्न तदारुकता नदेखाउँदा नगरवासी सुलभ स्वास्थ्य सेवा लिनबाट बञ्चित हुनु परेको छ । 

Share