कैलाली । कैलालीकाे लम्कीचुहा नगरपालिका ४ भल्काकी मञ्जु रावल गत जेठ २५ गते देखि घरबाट बेपत्ता थिइन् । उनका छोराले आमा घरबाट वकिललाई भेट्न जान्छु भनी गएको तर सम्पर्कमा पनि नआएको भन्दै असार १ गते खोजी तलासीका लागि इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिए ।
प्रहरीले अनुसन्धान गर्ने क्रममा मञ्जु रावल र गोमा रावल बिच अंशको विषयमा विवाद भएको खुल्न आयो । त्यसपछि प्रहरीले थप शङ्काको आधारमा घटना खोतल्दै जाँदा विवादित जग्गाको विषयलाई लिएर मञ्जुको हत्या गर्ने योजना गोमाले बनाएकाे भेटिएकाे थियाे । प्रहरीकाे अनुसन्धानको क्रममा लम्कीचुहा नगरपालिका वडा ४ भल्का बस्ने वर्ष ४० वर्षीया गोमा रावललाई प्रहरीले पक्राउ गरी उनकै बयानका आधारमा सोही ठाउँकी वर्षा रावल र २४ वर्षीया भरत रावल, अछाम जिल्ला पञ्चदेवल विनायक न.पा. ६ तोलीकी ३७ वर्षकी सरिता रावललाई पक्राउ गरिएकाे थियाे ।
घटनामा संलग्न भएकाे भनि पक्राउ परेकी सरिता रावलको बयान तथा उनले देखाएको स्थानका आधारमा साउन १४ गते आइतबार दिउसाे साढे तीन बजे मञ्जुका हड्डी (कङ्काल) फेला परेका हुन् । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ५ स्थित बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट करिब दुई सय मिटर पश्चिम तर्फ खोल्सामा ढुङ्गा मुनी च्यापेर राखेको र केही भाग वरपर छरिएर रहेको अवस्थामा उनका हड्डी (कङ्काल) टुक्रा-टुक्रा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताएका छन् ।
भेटिएका हड्डीमा बेरिएर रहेको गुलाबी रङ्गको कुर्ता सुरुवालबाट मृतक मञ्जुका छोरा विवेकले आफ्नै आमाको हो भनी सनाखत गरेका थिए । उक्त शव झण्डै डेढ महिना पछि फेला परेको हो ।
प्रहरीका अनुसार पक्राउपछि गोमाले सुरूमा आफू भारतमा बस्ने भएकाले नेपालमै नभएको र मन्जु बेपत्ता भएको विषयमा केही जानकारी नभएको दाबी गर्दै आएकी थिइन्। तर अन्ततः आफू नै घटनाको मुख्य योजनाकार रहेको गोमाले स्वीकार गरेकी डीएसपी चन्दले बताए ।
प्रहरीका अनुसार गोमाकै योजनामा घटनामा अरू व्यक्तिहरू पनि संलग्न भएको पाइएको हो । गोमाले आफ्ना स्वर्गीय श्रीमानको सम्पत्ति हासिल गर्न अरू व्यक्तिहरूलाई मन्जुको हत्या गर्न अह्राएकी प्रहरी अनुसन्धानमा देखिएको छ । सम्पत्तिका लागि मन्जुको हत्या भएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएको जनाइएकाे छ।
प्रहरीका अनुसार गोमा जनकबहादुर रावलकी श्रीमती हुन्। जनकले कान्छी श्रीमतीका रूपमा मन्जुलाई बिहे गरेका थिए। तर २०७६ सालमा मन्जु र जनकले सहमतिमै सम्बन्ध विच्छेद गरे। जेठी गोमासँग भने वैवाहिक सम्बन्ध कायमै थियो । श्रीमानको भने निधन भइसकेको छ ।
तर सम्पत्तिको विषयमा भने उनीहरु बीच विवाद नै रहेको थियो मुद्दा पनि चली नै रहेको थियो अन्ततः घटनाले यहाँसम्मको रूप लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक चन्दले बताए ।













