प्रहरी अपरेसन : लागूऔषधमा संलग्न नौ जना एकै दिन प्रहरी फन्दामा, दुई युवाको अपराध गर्ने अनौठो तरिका

कैलाली । प्रहरीले शनिबार एकैदिन मात्र लागूऔषधमा संलग्न रहेका नौ जनालाई कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट पक्राउ गरेकाे छ । पछिल्लो समय निकै डरलाग्दो रूपमा रहेको लागूऔषधको धन्दामा युवाहरू सक्रिय देखिन थाले पछि प्रहरीले पनि आफ्नो अपरेशन सुरु गरेको छ ।

शनिबार मात्रै प्रहरी अपरेसनमा समातिएका धनगढीका दुई जना युवाले भने लागूऔषध लुकाउन अनौठो तरिका लगाएका पाइएको प्रहरीले जनाएको छ । ती युवाहरूले मोटरसाइकलको हेडलाइट र इन्जिनिको प्लकभित्र लागूऔषध लुकाई राखेको अवस्थामा प्रहरीले फेला पारेको हो।

कञ्चनपुरको पुनर्वास नगरपालिका १० दोदाबाट एक दशमलव २० ग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका ३ मिलनचोकका २८ वर्षीय प्रदिप पाख्रिन र धनगढी उपमहानगरपालिका १ का ३३ वर्षीय बिकल मगर शनिबार साँझ पक्राउ परे । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले दुबै जनालाई लागूऔषधसहित पक्राउ गरेको थियो ।

मोटरसाइकलको हेडलाइट प्लक र इन्जिन प्लकभित्र लागूऔषध लुकाई राखेको अबस्थामा लागुऔषध फेला परेपछि मोटरसाइकलसहित दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै भीमदत्त नगरपालिका ११ गड्डाचौकीबाट पनि शून्य दशमलव २५ ग्राम लागूऔषधसहित बेदकोट नगरपालिका २ बसन्थलाका २७ वर्षीय धिरेन्द्र रावल र सोही स्थानका ३० वर्षीय ईश्वर चटौतलाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुबै जनालाई पक्राउ गरेको हो।

त्यसै गरी धनगढी उपमहानगरपालिका ३ व्यारेलबाट छ सय ५० मिलिग्राम लागूऔषधसहित गोदावरी नगरपालिका ८ का २१ वर्षीय विवेक चौधरी शनिबार साँझ नै पक्राउ परे । सोही स्थानबाट एक सय १० मिलिग्राम लागूऔषधसहित गोदावरी नगरपालिका १ का २१ वर्षीय सञ्जय गुप्ता र १९ वर्षीय अभिषेक कुसुवालाई समेत शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले तीनै जनालाई लागूऔषधसहित पक्राउ गरेको थियो ।

यसै क्रममा प्रहरीले टीकापुर नगरपालिका ९ खक्रोला पुल नजिकबाट दुई मिलिग्राम लागूऔषधसहित टीकापुर नगरपालिका १ का २४ वर्षीय आवाश भट्टराई र सोही स्थानका २५ वर्षीय जीवन रावललाई शनिबार साँझ पक्राउ गरेको थियो । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुबै जनालाई पक्राउ गरेको पनि प्रहरीले जनाएको छ ।

 

Share