कैलाली । क्यानाडामा जारी ग्लोबल टी २० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लेग स्पिनर स्टार सन्दीप लामिछानेले यति बेला उत्कृष्ट प्रदर्शन गरी रहेका छन् । उक्त लिगमा लामिछाने सर्रे जागुअर्समा आबद्ध रहेका छन् ।
यस सिजनको सुरुवाती खेलेका तीन ओटै खेलमा अवसर पाएका लामिछानेले तीनै खेलमा अवार्ड जितेका छन् । उत्कृष्ट बलिङ प्रदर्शन गरेका उनले खेलेका तीन खेलमा ‘मोमेन्ट अफ द म्याच’ बनेका छन् । जसमा उनले एउटा खेलबाट पाँच सय डलर पुरस्कार राशि प्राप्त गरेका छन् ।
आज बिहान सम्पन्न खेलमा लामिछानेले मिसिसौगा प्यान्थर्सविरुद्ध तीन ओभर बलिङ गर्दै १८ रन खर्चेर महत्वपूर्ण तीन विकेट हात पारे । उक्त खेलमा सर्रेलाई ५५ रनले विजयी गराउन उनको महत्वपूर्ण भूमिका रह्यो ।
जितको लागि एक सय ६५ रनको विजयी लक्ष्य पछ्याएको प्यान्थर्स एक सय नै रनमै सबै विकेट गुमाउन पुग्यो ।
सर्रे चार खेलमा दुईमा जित, एकमा हार र एक खेल वर्षाको कारण रद्द हुन पुगेको थियो ।
यस जारी ग्लोबल टी २० लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दिपेन्द्रसिंह ऐरी पनि आबद्ध भएका छन् । उनी मोन्टरिएल टाइगर्समा रहेका छन् । उनको प्रदर्शन पनि औसत रहेको छ । ब्याटिङमा राम्रो प्रदर्शन गरी रहेका ऐरी बलिङमा भने केही महँगा साबित भइरहेका छन् ।













